काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुकले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखी सरल प्रक्रियाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ ।
यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयंको हुनुपर्ने, निवेदक बाहेक अन्य व्यक्तिको शेयरहरू धितोको रुपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।