शीर्षकहरू

दशैंमा काठमाडौंमा ड्रोनबाट सुरक्षा निगरानी गरिने, ३ हजार ७६५ जना प्रहरी परिचालन हुने

दशैंमा काठमाडौंमा ड्रोनबाट सुरक्षा निगरानी गरिने, ३ हजार ७६५ जना प्रहरी परिचालन हुने

काठमाडौं । प्रहरीले ३ हजार ७६५ जना प्रहरी परिचालन गरेर दशैंमा काठमाडौंको सुरक्षा गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा पैदल गस्तीदेखि ड्रोनबाट निगरानी गरिने बताएको छ ।

प्रविधिसमेतको उच्चतम प्रयोग गरी शान्ति, सुरक्षा, अमय चयन कायम गरिने परिसरका एसएसपी वसन्त रजौरेले बताए ।  पैदल गस्ती गर्नेसहित मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाक थ्रो गेटसहित ड्रोन निगरानीसम्मको योजनाबारे उनले जानकारी दिए ।

खसीबजार, एटिएम बुथ, बस टिकट काउन्टर, गहना पसल र शक्तिपीठसम्म सुरक्षा गरिने परिसरले जनाएको छ । काठमाडौँ बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको एसएसपी रजौरेले बताए ।

बैंक तथा वित्तीय संस्थामा लुटपाट हुनसक्ने भन्दै खाली घरदेखि, बैंक तथा वित्तीय क्षेत्र र भिडभाड हुने ठाउँसम्मको सरक्षा रणनीति तयार पारिएको परिसरले जनाएको छ । कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको एसएसपी रजौरेले बताए ।