शीर्षकहरू

बाढी पहिरोले कहाँ कहाँ छ सडक अवरुद्ध ?

बाढी पहिरोले कहाँ कहाँ छ सडक अवरुद्ध ?

काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षापछि देशभर विभिन्न ३२ वटा राजमार्गका ६८ वटा सडक अवरुद्ध भएका छन् । केही ठाउँमा आंशिक रूपमा सडक सञ्चालनमा आए पनि अधिकांश ठाउँमा सडक पूर्णतया अवरुद्ध छ । सडक विभागका अनुसार केही ठाउँमा सडक भासिएको र बगेको छ भने कतिपय ठाउँमा पुलहरू पनि बगेका छन् ।

काठमाडौं प्रहरीका अनुसार र कीर्तिपुर, स्वयम्भू, नागढुंगा, फर्पिङ, साँखु,बलम्बु, थानकोट, बालाजु क्षेत्रमा सडक अवरुद्ध भएको थियो । ती स्थानमा केही ठाउँमा सडक खुलाइएकोमा केही ठाउँमा खुलाउने पहल भइरहेको छ ।

राजधानी काठमाडौं जोड्ने सबै राजमार्ग र मुख्य सडक अवरुद्ध भएका छन् । काठमाडौंबाट सवारी बाहिरिएका छैनन् भने भित्रिने सवारी पनि ठाउँ-ठाउँमा सडकमा क्षति पुग्दा बाटैमा रोकिएका छन् । मुग्लिन–काठमाडौं, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक काठमाडौं, हेटौँडा-काठमाडौं, दक्षिणकाली-सिस्नेरी, बल्खु-फर्पिङसँगको सम्पर्क टुटेकोमा खुलाउने पहल भइरहेको छ । केही ठाउँमा आंशिक रुपमा सडक सञ्चालनमा ल्याइएको छ । 

बाढीले हेवाखोलाको पुल, खुर्कोट-रामेछाप जोड्ने पुल, अरनिको राजमार्गको लार्चा बेलिब्रिज बगाउँदा आवागमन ठप्प भएको छ ।

यस्तै मुग्लिन-पोखरा, नारायणगढ-मुग्लिन, बेनी-जोनसामे, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुङ्गा खण्डको सवारी आवागमन पनि रोकिएको छ ।

कीर्तिपुर नगरपालिका १० त्रिवि सेवा आयोग अगाडिको सडक पनि पूर्णरुपमा बन्द छ । गोदावरी नगरपालिका छ लेले, टिकाभैरव जाने बाटो, हलेसी-तुवाचुङ-बर्खेटार, दिप्रुङ -चुचुम्मा, राँके-भेडेटार, दिक्तेल-गाईघाट, माइखोला-कटारी-चनौटे, बकैया-घट्टेपाखा, सुकौरा-भिमफेदी-कुलेखानी-फाखेल,आँपचौर र लाम्राङ, टिस्टुङ देउराली, कुलेखानी मार्खु सडक, गोसाईकुण्ड टिमुरे बजार-मेदाफुदुङ, चारसयवेशी-गोलन्जोर,अकरेभीर-सुम्नामबेशी, धुनिवेशी-त्रिभुवनराजपथ, थाक्रे-कमेरो, बेनिट रोराङ ​​​​​​, गजुरी-छहारा सडक पनि पूर्णरुपमा बन्द छन् ।

यसैगरी वेनिघाट रोराङ,तिङराङखानी गल्छी चिरौदी सडक पनि पूर्णरुपमा बन्द रहेको प्रहरीले बताएको छ ।