शीर्षकहरू

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता, प्रधानमन्त्री र परराष्ट्रमन्त्री नियमित कार्यक्रम सकेर फर्किने

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता, प्रधानमन्त्री र परराष्ट्रमन्त्री नियमित कार्यक्रम सकेर फर्किने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍एकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे ।

स्वदेश फर्किएपछि अर्थमन्त्री पौडेल मन्त्रालय पुगेर छलफलमा जुटेका छन् । उनको शनिबार फर्किने कार्यक्रम रहे पनि एकदिन ढिलो गरी फर्किएका हुन् ।

उनी चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए ।

देशमा बाढी र पहिरोले बितण्ड मच्चाउँदा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री र अर्थमन्त्री स्वदेशबाहिर रहेका थिए । अर्थमन्त्री आज फर्किए पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्री भने नियमित कार्यक्रम सकेरै फर्किने तयारीमा छन् ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासहितको टोली संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकामा रहेका छन् ।