शीर्षकहरू

अमेरिकाबाट प्रधानमन्त्रीले भने – यस्तो विपत्तिको समयमा हवाई भाडा महँगो नलिनू

अमेरिकाबाट प्रधानमन्त्रीले भने – यस्तो विपत्तिको समयमा हवाई भाडा महँगो नलिनू

काठमाडौं । संयुक्त राष्ट्रसंघका कार्यक्रमहरुमा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट हवाई भाडा महँगो नलिन अनुरोध गरेका छन् । अविरल वर्षाका कारण आएको बाढी–पहिरोका कारण राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन पुगेका छन् । 

असोज ११ गते देखि सुरु भएको अविरल वर्षाका कारण देशभर १२७ जनाको मृत्यू भएको छ । ७६ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन् । सडक सम्पर्क टुटेपछि आजदेखि सुचारु भएको हवाई उडानमा भने एयरलाइन्सहरूले मनपरी भाडादर तोकेको गुनासो बढेपछि प्रधानमन्त्रीले अमेरिकाबाटै विपत्तिको समयमा महँगो हवाई भाडा नलिन भनेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ।  हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ।'