शीर्षकहरू

एयरलाइन्सहरूले मनपरि हवाई भाडा बढाएपछि नियन्त्रण गर्न समितिको निर्देशन

एयरलाइन्सहरूले मनपरि हवाई भाडा बढाएपछि नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौं । बाढी र पहिरोले सडक सञ्जाल टुटेर हवाई उडानतर्फ यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले मनपरी दरमा टिकट बिक्री सुरु गरेका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ । 

बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए । “विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ”, उनले भने । उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए । 

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गरे । उनले भने, “हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरुलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ ।” श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे । “सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ”, उनले भने । तर उनको दाबीविपरीत अधिकतम् दरमा एयरलाइन्सहरूले टिकट बिक्री गरिरहेका छन् ।

काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु नौ हजार नौ सय पुर्‍याएको जनाइएको छ । साथै काठमाडौं–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ । 

हाल काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ । यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन । काठमाडौं भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ । काठमाडौंबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौं आवतजावत गर्ने सवारी साधन रोकिएका छन् । हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए ।

मनपरी मूल्यवृद्धि भएपछि राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सभापति रामहरि खतिवडाले आज देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिए ।

“यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ”, निर्देशनमा भनिएको छ, “तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।”

देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ । -रासस