शीर्षकहरू

विपतमा वायुसेवा सञ्चालकको बार्गेनिङ : इन्धनदेखि पार्किङसम्म छुट दिन माग

टिकट बेचिसकेर तीन दिन अधिकतम् भाडा नलिने निर्णय

विपतमा वायुसेवा सञ्चालकको बार्गेनिङ : इन्धनदेखि पार्किङसम्म छुट दिन माग

काठमाडौं । क्रबार र शनिबारको अविरल वर्षापछि देशभर विभिन्न ३२ वटा राजमार्गका ६८ वटा सडक पूर्ण अवरुद्ध भएपछि हवाई टिकटको अधिकतम मूल्य तोकेका वायुसेवा सञ्चालकहरूले सरकारसँग बार्गेनिङ सुरु गरेका छन् । विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गर्दै  सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट दिन माग गरेका छन् ।

 बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ । हवाई भाडा महङ्गो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । मनपरी मूल्यवृद्धि भएपछि राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारको निर्देशन र नागरिकस्तरबाट आलोचना भएपछि बसेको वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले अधिकतम् शुल्क नलिने निर्णय गरी सरकारसँग छुटका लागि माग गरेको हो । 

सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए । उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए ।

संघले उक्त निर्णय गरे पनि एयरलाइन्सहरूले तीन दिनसम्मको टिकट भने बिक्री गरिसकेका छन् । टिकट बिक्रीपछि संघले यस्तो निर्णय गरेको हो । 

हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि  विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । “कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ”,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ”, उनले भने ।

सडक सम्पर्क विच्छेद भएपछि काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु नौ हजार नौ सय पुर्‍याएको थियो । साथै काठमाडौं–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ ।