शीर्षकहरू

कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठजना बेपत्ता भएका छन् । यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका छन् । भौतिक संरचनातर्फ १९ पक्की घरमा पूर्ण, ५८ मा आंशिक क्षति र अन्य घरतर्फ ३९ मा पूर्ण, ३३ आंशिक तथा १३ गोठ, छ सरकारी कार्यालय, चार सवारी साधन, १३ वटा पुल तथा कल्र्भटमा क्षति हुनुका साथै पाँच सय ४२ घरधुरी प्रभावित भएका कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले जानकारी दिए ।

मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको सूचना अधिकारी दाहालले बताए । उनकानुसार बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको हो । 

बाढीपहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छभने यहाँ उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अबरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिए । 

अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । यस्तै, घाइते हुनेमा झापामा दुई, पाँचथरमा पाँच, धनकुटामा दुई, तेह्रथुममा एक, खोटाङमा एक गरी १३ जना रहेका छन् । झापाका दुई, पाँचथरका पाँच, मोरङका एकजना बेपत्ता भएका जनाइएको छ ।

यस्तै, सबैभन्दा बढी झापामा तीन सय चार, मोरङमा एक सय २०, सुनसरीमा ४९, धनकुटामा २३, तेह्रथुममा ११ र उदयपुरमा २१ घर प्रभावित भएका छन् । झापामा पाँच सय २३, मोरङमा चार सय ८७, सुनसरीमा तीन सय ५८ र खोटाङमा एक सय १९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई थप क्षति हुन नदिन प्रदेशभरिमा एक हजार ९२ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  यसक्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गरिएको थियो ।

प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए । - रासस