शीर्षकहरू

पूर्वसूचना हुँदाहुँदै विपत रोक्न तयारी नगर्ने दुई जिल्लाका सिडिओ गृहमा तानिए

पूर्वसूचना हुँदाहुँदै विपत रोक्न तयारी नगर्ने दुई जिल्लाका सिडिओ गृहमा तानिए

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अत्यधिक क्षति भएका दुई जिल्ला धादिङ र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । धादिङका राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाईँलाई गृहमन्त्रालयले मन्त्रालयमा तानेको हो ।

गृहले धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई पठाएको छ ।

पूर्वसूचना हुँदाहुँदै सवारीसाधन सञ्चालनमा प्रशासनले रोक नलगाउँदा क्षति भएपछि त्यहाँका सिडिओहरूलाई गृहमा तानिएको हो ।

बाढीपहिरोबाट काभ्रे सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ ६६ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता र ४२ जना घाइते भएका छन् । 

पछिल्लो विवरण अनुसार काभ्रेमा विहिबारदेखिको बर्षापछि बाढी पहिरोमा परेर ६६ जनाको ज्यान गएको छ । सबैभन्दा बढी मानवीय क्षति रोशी, तेमाल, पनौती, बेथानचोक पालिकामा भएको छ । जिल्लाका पालिकाबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । 

यस्तै काठमाडौंलाई तराईसहित पूर्व र पश्चिमका जिल्लासँग जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा तीन वटा बस पुरिई ३५ जनाले ज्यान गुमाएका छन् । शनिबार र आइतबार गरेर उक्त पहिरोबाट ३५ जनाको शव निकालिएको हो भने पहिरो पन्छाएपछि एकतर्फ यातायात सञ्चालनमा आएको छ ।