शीर्षकहरू

बाढीले भिजेका खाद्यवस्तु काठमाडौंमा छ्यापछ्याप्ती

बाढीले भिजेका खाद्यवस्तु काठमाडौंमा छ्यापछ्याप्ती

काठमाडौं । काठमाडौंका मिठाई पसलहरूमा बाढीले भिजेर बिग्रेका खाद्य वस्तुको प्रयोग भएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा बाढीले भिजेका सामग्री प्रयोग भएको भेटिएको हो ।

विभागको अनुगमन टोली मंगलबार ललितपुर स्थित आकास फुट्डस (आगन स्वीट्स) भिजेका पिठो र कीरा लागेको सुकमेलको प्रयोग भएको पाइएको जनाएको छ । त्यस्तै, जावलाखेल स्थित हानकुक साराङ रेष्टुरष्ट, सूर्यविनायक स्थित लक्ष्मी मिठाई, महावीर स्वीट्स एण्ड चाट, जनकपुर स्वीट एण्ड चाट सेन्टर लगायत मिठाई पसल भिजेका सामग्री प्रयोग भएको जनाएको छ । 

त्यस्तै, पसलहरूले लेबल नै मेटिसकेको तेलको प्रयोग गरेको, कुहिएको सामाग्री प्रयोग गरेको, केमिकल राख्ने भाडामा तेल स्टोर गरी प्रयोग गरेको पाइएको विभागका महानिर्देशक राजन् पौडैलले बताए । रेष्ट्ररेन्टहरुले लेबल नै नराखेका मिनरल बोटलको विक्री गरेको र मूल्य पनि चर्को असुल गरी रहेको पाइएको उनले बताए । 

अविरल वर्षाको कारण आएको बाढीले गत १२ गते आएको बाढीले खोला किनारमा रहेको भौतिक संरचनामा क्षति पुगेको छ । अधिकांश व्यवसायीले खोलाको किनारामा गोदाम राख्ने गरेका छन् । बाढीका कारण गोदाम राखिएका समान विग्रीएको महानिर्देशक पौडेलले बताए । बिग्रिएको समान नष्ट गर्नुको सट्टा व्यवसायीले खानेकुरा बनाउन प्रयोग गर्न थालेको पाइएको हो । चाडपर्वको समयमा मिति सकिएका, लेबल नभएका, कुहिएका, दुइवटा विल भएका समानहरु बजारमा विक्री वितरण हुने गरेको उनले बताए । 

विभागले प्रत्येक दिन बजारको अनुगमन गरी रहेको छ । अरु समयमा अनुगमनको चर्चा नभए पनि चाडपर्वको बेला चर्चा हुने गरेको विभागका महानिर्देशक पौडेलले बताए । ‘अरु समयमा हुने अनुगमनको खासै चर्चा नहुने रहेछ । तर, चाडपर्वमा बजारमा अनियमितता पनि बढी हुने र गुनासो पनि धेरै आउने भएकोले यसको चर्चा पनि हुने रहेछ,’ उनले भने ।

बुधबार पनि विभागको अनुगमन टोली कालीमाटी स्थित तरकारी बजार लगायतका धेरै स्थानमा अनुगमन गरेको थियो । अनुगमनमा कालीमाटी स्थित तरकारी बजारमा तरकारी र फलफुलहरु कुहिएको अवस्थामा पाइएको विभागका महानिर्देशक राजन पौडेलले बताए । त्यस्तै, विभागले बुधबार होटल सोनिङग र एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरीलाई ७५ हजार जरिवाना गराएको छ । भ्याली कोल्ड स्टोरलाई निर्देशन दिएको छ । रानी सती इन्टरनेशनललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

सरकारले यो वर्ष विभागलाई ४ हजार २०० वटा कम्पनीको अनुगमन गर्ने लक्ष्य दिएको छ । विगत तीन महिनाको अवधिमा विभागले नौ सय वटा कम्पनीको अनुगमन गरेको विभागका महानिर्देशक पौडेलले बताए । 

ऐन बमोजिम अनुगमनमा अनियमितता भेटिएका विभागले कम्पनी नै सिल गर्न सक्छ । अधिकतम ३ लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

विभागले जावलाखेल स्थित वर्जर कम्पनीको पसल सिल गरेको छ । पसलमा मिति सकिएका रंगहरु विक्रीमा राखेको भेटिएपछि विभागले पसल नै सिल गरेको हो । त्यस्तै, नैकापमा एक लाख २० किलो चिनी सिल गरेको छ । चिनीको दुईवटा खरिद विल भेटिएपछि सिल गरिएको विभागका महानिर्देशक पौडेलले बताए ।