शीर्षकहरू

यसवर्ष च्याङग्राको मूल्य घट्यो

यसवर्ष च्याङग्राको मूल्य घट्यो

काठमाडौं । दशैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ। च्याङ्ग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकले नै बिक्री मूल्य घटाएका हुन् ।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए ।  ‘ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौँ,’ उनले भने, ‘गत वर्ष काठमाडौं र पोखरामा प्रतिगोटा  ५५ हजार रुपैयाँसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि  ४५ हजार रुपैयाँभन्दा कम हुन्छ ।’ गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए । 

छेवाङसहित डोल्पाका चारजना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर २५० च्याङ्ग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन्। मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङ्ग्राहरू दशैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन्।  

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत ठाउँबाट च्या्ङग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडीबुडीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ। 

दशैँ–तिहारमा हिमाली च्याङ्ग्राको मासुुको खपत बढी हुने गर्छ । भेटेरेनरी अस्पताल तथा पशुु सेवाविज्ञ केन्द्र मुुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार बुधबारसम्म सात हजार च्याङ्ग्रा जोमसोमदेखि म्याग्दीतर्फ झरेका छन्। 

 यस वर्ष दशैँका लागि मुुस्ताङबाट १० हजार च्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ। 

तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ। मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका– ४ याराका कृषक डिण्डुप गुरुङले बताए। ०८० मा सात हजार, ०७९ मा ६ हजार आठ सय, ०७८ मा १२ हजार र ०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्यांक छ । -रासस