शीर्षकहरू

एनएलजी इन्स्योरेन्सले कात्तिक ७ गते हकप्रद पारित गर्ने

एनएलजी इन्स्योरेन्सले कात्तिक ७ गते हकप्रद पारित गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पनि पारित गर्नेछ । बोर्डले असोज ११ गते कम्पनीलाई ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । 

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि २०८० साल कात्तिक २ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले तत्कालित कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापूँजीको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० साल साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो । 

सोही निर्णय बमोजिम कम्पनीले २०८० साल कात्तिक २ गते ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० साल फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ । 

भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई सभामार्फत स्वीकृति दिने तयारी कम्पनीले गरेको हो । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । 

यो हकप्रद विक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।