शीर्षकहरू

बीपी राजमार्ग बाहेक अन्य राजमार्ग अबको तीन दिन भित्र सुचारु गर्ने तयारी

बीपी राजमार्ग बाहेक अन्य राजमार्ग अबको तीन दिन भित्र सुचारु गर्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोले क्षतिग्रस्त भएका सडकमध्ये बीपी राजमार्ग बाहेक अन्य राजमार्ग छिटै सञ्चालनमा ल्याइने बताएका छन् । शुक्रबार संसदको पूर्वाधार समितिमा क्षतिको अवस्थाबारे जानकारी दिँदै मन्त्री दाहालले बीपी राजमार्गको १२ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त भएकाले पुन : निर्माणमा समय लाग्ने बताएका हुन् । 

राजमार्गहरु स्थायी रुपमा पुन ः निर्माण गर्न २५ अर्ब रुपैयाँ लाग्ने उनले बताएका छन् । अन्य राजमार्गमध्ये बीपी राजमार्ग निर्माण लागत पनि अधिक लाग्ने उनले बताए । 

त्यस्तै, मन्त्रालयका सचिव केशव कुमार शर्माले बीपी बाहेकका अन्य राजमार्ग अबको तीन दिन भित्र सञ्चालन हुने गरी मर्मत भै रहेको बताए । त्यस्तै, खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरू गरिएको उनले बताए । फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने उनले बताए । ‘यो पुलका लागि ८० मिटरको बेलिब्रिज आवश्यक पर्छ । तर, हामीसँग ५० मिटरको पुल मात्र छ  । त्यसैले त्यहाँका लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने भएको हो,’ उनले भने । 

पूर्वमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोमा सतर्ककता अपनाउन सरकार चुकेको बताए । मौसम विभागले अगाडि नै सूचना दिँदा समेत सरकारले आम नागरिकलाई सचेत गराउन नसक्दा जनधनको क्षति हुन पुगेको उनले बताए । यद्यपी चाडपर्वको समयमा नागरिकलाई यातायातको सहज वातावरण बनाउनका लागि युद्ध स्तरमा काम गर्नुपर्ने उनले बताए । 

सांसद प्रतिमा गौतमले बाढी पहिरोले भएका संरचनाको गुणस्तरको विषयमा पनि छलफल हुनुपर्ने बताइन् । ‘बाढीले भर्खरै निर्माण भएका संरचना पनि भत्काएको छ । त्यसैले यसको गुणस्तरमा पनि छलफल हुनुपर्छ,’ उनले भने । बाढीबाट प्रभावित संरचना र नागरिकको राहत उद्धारमा सरकारले देखिने गरी काम गर्नुपर्ने उनले बताइन् ।

सांसद प्रेम महर्जनले बाढी पहिरोले सबै संरचना भत्केका कारण सबैतिर जोखिम बढेको छ । त्यसैले आम नागरिकलाई चाडपर्वमा रमाइलो गर्नुभन्दा पनि सुरक्षित रहेर मनाउनका लागि सचेत गराउनु पर्ने बताए ।