शीर्षकहरू

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट, स्पास्मो १ सय ३० ट्याब्लेट र नगद ११ हजार ८ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३० वर्षीया पुजा खड्की तामाङ र रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने २४ वर्षीय समिर मगर रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पुजाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

रूकुम पश्चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो १ सय ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका(५ सेरीगाउँ बस्ने सोही बगरपालिका-९ बालचौर घर भएका ३६ वर्षीय भिम बहादुर वली र आठविसकोट नगरपालिका-स्याला बस्ने ३५ वर्षीय अजय यरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

रूपन्देही, मायादेवी गाउँपालिका-४ बनकसिया बस्ने २६ वर्षीय विनोद कुमार सोनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका(१० महजिदिया बस्ने ३० वर्षीय रामचन्द्र बढैको घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम फेला पारी उनलाई समेत शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 
पाँचथर, फिदिम नगरपालिका-४ जोरसाल बस्ने २४ वर्षीय अबिन सुजी समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता र नगद ७ हजार रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले अबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका प्र.१-०३-००१ प ६५४० नम्बरको मोटरसाइकल र प्र.३-०२-०११ प ५३२२ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । 

सुर्खेत, विरेन्द्रनगर नगरपालिका-३ एरिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने लेकवेशी नगरपालिका-९ घर भएका ३२ वर्षीय अनिल कुमार बुढा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले मंगलढी चोकबाट मुलपानी चोकतर्फ जाँदै गरेको भे.८ प ७२१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

            कैलाली, कैलारी गाउँपालिका-८ लौसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ३० वर्षीया रिता कठरिया, गौरीगंगा नगरपालिका-१० बस्ने २८ वर्षीय इन्द्र कठायत र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय हेम चौधरी रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले रिताको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

            दाङ, लमही नगरपालिका-९ तल्लो अमिलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय अनिस परियार र सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय गणेश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.५ प ४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।