शीर्षकहरू

१३ हजार क्विन्टल खाद्यान्न र २४ हजार लिटर तेल विक्री गर्यो खाद्य कम्पनीले

१३ हजार क्विन्टल खाद्यान्न र २४ हजार लिटर तेल विक्री गर्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसलबाट १३ हजार ३२५ क्विन्टल खाद्यान्न र २४ हजार ७९ लिटर विक्री वितरण गरेको छ । कम्पनीले दशैं तिहारलाई लक्षित गरी गत असोज ३ गते देखि सुपथ मूल्य पसल सञ्चालन गरेको हो । 

खाद्यान्नमध्ये शनिबार बेलुकासम्ममा ५१ क्विन्टल चिनी विक्री गरेको कम्पनीको विक्री वितरण विभागकी विभागीय प्रमुख प्रबन्धक अम्बिका पौडेलले बताइन् । उनका अनुसार कम्पनीले माघसम्ममा पसल सञ्चालन गर्नेछ । कम्पनीले तेल गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णालीको सिमी, फापर, दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा, डिडिसीको घिउ विक्री गरी रहेको छ । 

विक्री भएका खाद्यान्नमा कम्पनीले ७६ लाख ६८ हजार १३० रुपैयाँ छुट दिएको उनले बताइन् । 

त्यस्तै, आइतबार मध्यान्ह २ बजेसम्ममा १४५ वटा खसी विक्री भएको उनले बताइन् । १३ वटा च्याङ्ग्रा विक्री भै सकेको छ । कम्पनीले आइतबार बिहान देखी खसी, बोका र च्याङ्ग्रा बेच्न सुरु गरेको हो । 

कम्पनीले ४१ जिल्लाका ६३ बढी विक्री केन्द्रबाट छुट सहितको खाद्यान्न विक्री गरी रहेको छ । 

सुपथ पसलमा सबैभन्दा बढी चामल विक्री भै रहेको छ । कम्पनीले सबै विक्री केन्द्रबाट चामल र तेल विक्री गरी रहेको छ । अन्य खाद्यान्न भने काठमाडौंमा मात्रै विक्री गरेको छ । खाद्य कम्पनीले विभिन्न नौ प्रकारका चामल विक्री गरेको छ । चामलमा प्रति केजी सात रुपैयाँ छुट दिएको छ । त्यस्तै, खसी, बोका र च्याङ्‍ग्रामा प्रति केजी १० रुपैयाँ छुट दिएको छ । 

सुपथ पसल सञ्चालन लागि कम्पनीलाई सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।