शीर्षकहरू

विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो, सबैभन्दा बढी भारतीय मुद्रा २२.१ प्रतिशत वृद्धि

विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो,  सबैभन्दा बढी भारतीय मुद्रा २२.१ प्रतिशत वृद्धि

काठमाडौं । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तसम्म ५.५ प्रतिशतले वृद्धि भइ रु.२१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई रु.१९२८ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई रु.२२३ अर्ब ५३ करोड कायम भएको छ ।

२०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।