शीर्षकहरू

विदेश पढ्न जानेसँगै दुई महिनामा बाहिरियो २८ अर्ब

विदेश पढ्न जानेसँगै दुई महिनामा बाहिरियो २८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा वैदेशिक अध्ययनमा जाने  विद्यार्थीसँगै २८ अर्ब रुपैयाँ भन्दा बढी रकम नेपालबाट बाहिरिएको छ । नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार साउन र भदौ महिनामा मात्रै वैदेशिक अध्ययनका लागि २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको हो । 

गत आवको सोही अवधिमा २३ अर्ब ३३ करोड रूपैयाँमात्र विदेशिएको थियो । उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवाको संख्या बढेसँगै नेपाली मुद्रा विदेशिने क्रम पनि बढेको हो । गत साउन महिनामा मात्रै १४ अर्ब ९२ करोड रुपैयाँ अध्ययनका लागि विदेशिएको थियो । 

केन्द्रीय बैँकको तथ्यांक अनुसार गत आवमा मात्रै अध्ययनका लागि मुलुकबाट एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरियो  । अघिल्लो वर्षको तुलनामा यो रकम २४ प्रतिशतले बढी हो । आव २०७९/८० मा विदेश अध्ययनकै लागि एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । आव २०७८/७९ मा ६७  अर्ब ७० करोड, आव २०७५/७६ मा ४६ अर्ब ३२ करोड र आव २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको छ ।