शीर्षकहरू

ज्योति ग्रुप विवाद : दाजुभाइको कलहले अस्पताल संकटमा, बिरामी निकाल्न दबाब [भिडिओ]

ज्योति ग्रुप विवाद : दाजुभाइको कलहले अस्पताल संकटमा, बिरामी निकाल्न दबाब [भिडिओ]

काठमाडौं । नेपालको पुरानोमध्ये एक व्यावसायिक घराना ज्योति समूहका दुई दाजुभाइको पारिवारिक कलहले उत्कर्ष रूप लिएको छ । एकपछि अर्को मुद्दामामिलामा फस्दै गएको यस समूहअन्तर्गतका ज्योति एण्ड कम्पनी प्रालि, ज्योति यार्न प्रोसेसिङ, म्यानेजमेन्ट सर्भिस, भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स, भाजुरत्न इन्जिनियरिङ फर्मा लिमिटेड, स्याकार कम्पनीलगायत श्रृंखलाबद्ध मुद्दा कुनै समय अदालतमा प्रत्येक दिन पेसी तोकिने र सुनुवाइ हुने गर्थ्यो । पछि उच्च अदालत पाटनले कम्पनीका सबै मुद्दा एकै ठाउँमा राखेर फैसला गर्‍यो । यद्यपि, उक्त समूहको पारिवारिको कलह सकिएको छैन ।

यतिबेला ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिको कलहका कारण जमलस्थित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल संकटमा परेको छ । दाजुभाइको अंश विवादका कारण अस्पताल अलपत्र पर्ने अवस्था त सिर्जना भएको छ नै त्यहाँ उपचाररत बिरामीलाई निकाल्न दबाब बढेको छ ।

धेरै सम्पत्ति भागण्डाकै क्रममा भएका कारण यी दुई दाजुभाइबीच तनाव कायम छ । पछिल्लो विवाद भने ग्राण्डी सिटी अस्पतालको हो । अंशबण्डाका क्रममा अस्पतालको भवन दुवै भाइको भागमा परेपछि अदालती प्रक्रिया हुँदै विवाद महानगरसम्म पुगेको छ । अस्पतालले सञ्चालन गरिरहेको आईपीडी, आईसीयु, एचसीयु, एनआईसीयु अप्रेसन थियटर र इएनटी सेवा सञ्चालन भइरहेको भवनको भाग दाइ पद्म ज्योतिको भागमा परेको छ । अस्पताल भने रुप ज्योतिले सञ्चालन गरिरहेका छन् । जसकारण आफ्नो भागमा परेको भवनबाट अस्पताल हटाउन दबाब पद्म ज्योतिले बढाएका छन् ।

यद्यपि दाइ पद्मज्योतिको भने आफूहरूले सूचना दिएर कानुनी रुपमा अघि बढेको दाबी छ । २०७६ पुस २१ गते आफ्नो भागमा पर्ने अस्पतालको भवन खालि गर्न पहिलोपटक सूचना दिएको, २०७७ साउन ४ गते अडिटरबाट कुनै सम्झौता गरेको वा बहाल तिरेको नभेटिएको रिपोर्ट आएको, ९ गते  स्वास्थ्य कार्यालय काठमाडौँबाट ग्राण्डी सिटीले अस्पताल सञ्चालन गर्न कुनै अनुमति नलिएको पत्र प्राप्त भएको, सोही वर्ष पुस ३० गते भवन विभागलाई अस्पताल संचालनको कुनै अनुमति लिएको छ कि भनेर सोध्दा छ भनेर जवाफ दिन नसकेको । त्यसपछि ७८ असोज २४ गते बाध्य भएर काठमाडौँ महानगरपालिकामा निवेदन दिएको र कामनपाले बहाल तिरी घर खाली गर्न आदेश दिएको तथा पुनरावेदनमा जिल्ला अदालतले कामनपाकै निर्णय सदर गरेको उनको भनाइ छ ।

सर्वोच्चले पनि घर खाली गर्नुपर्ने निर्णय सदर गरेपछि रुप ज्योतिले अस्पताल तत्काल खाली गर्न नसकिने बताउँदै थप दुई वर्ष माग गरेका थिए । तर दाजु पद्म ज्योतिले उक्त प्रस्ताव मानेनन् । अस्पताल एकैपटक खाली गर्न नसकिने र यसले बिरामीहरु मर्कामा पर्ने भनाइ रुप ज्योतिको छ । बरु भाडा तिरेर सञ्चालन गरी केही समयपछि खाली गर्ने प्रस्ताव आफूले राखे पनि दुस्मनीकै कारण उक्त प्रस्ताव पद्म ज्योतिले अस्वीकार गरेको आरोप उनको छ । हुन पनि सोही भवनमा नेपाल बैंक लिमिटेडको कार्यालय बहालमा सञ्चालनमा रहँदा अस्पतालजस्तो संवेदनशील संस्था तत्काल हटाउन पद्म ज्योतिले दबाब दिइरहेका छन् ।

अस्पतालको भवन दुवै भाइको भागमा परेपछि यतिबेला यसको प्रत्यक्ष प्रभाव त्यहाँका बिरामीलाई परेको छ । हाल त्यहाँ बालबालिकादेखि महिलाहरुसम्म उपचार गराइरहेका छन् । यही कारण देखाएर रुप ज्योतिले आईसीयु, एचसियु, सीसीयु, एनआईसीयु लगायतका संवेदनशील उपकरण उठाएर अन्यत्र स्थानान्तर गर्न समय लाग्ने भएकाले यथाशक्य चाँडो व्यवस्थापन गर्ने प्रयास भइरहेको जानकारी महानगरलाई दिएका थिए । तर पद्म ज्योतिले भने उक्त प्रस्ताव अस्वीकार गरेर यथाशक्य घर खाली गराइदिन महानगरमा निवेदन दिएका छन् ।

सोही निवेदनका आधारमा कात्तिक ६ गतेभित्र घर खाली गर्न पत्राचार गरिएकोमा महानगरले थप एक साता म्याद थप गरेको छ । यस विषयमा वादी पद्मज्योतिसँग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।