शीर्षकहरू

२२ वर्षको उमेरमा कृषि उद्यमी, वार्षिक आम्दानी ५ लाख बढी

२२ वर्षको उमेरमा कृषि उद्यमी, वार्षिक आम्दानी ५ लाख बढी
सांकेतिक तस्वीर

जुम्ला । खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका तिला गाउँपालिका-८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचय मात्र बनाएका छैन लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिएका छन्।

उद्यमी रावतले व्यावसायिक ढंगले फलफूल नर्सरी मात्र सञ्चालन गरेका छैनन् स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाएका छन् । उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् । यस वर्ष उनले स्याउ बेचेर रु. ४० हजार कमाएको बताए । बिरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए ।

कृषिकर्ममा केन्द्रित उनले हाल दुई सय वटा ओखरका बिरुवा हुर्काएका छन् । “कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा रु. तीन लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक रु. तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ,” भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनले भने । वार्षिक रु. १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बढाएको उनले बताए ।

अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गरेका तथा वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन गरेका उनलाई  कृषि क्षेत्रमा काम गर्न असहज छैन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।

आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलंगा बजारसम्म पुग्ने गरेको छन् । स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनी बताउँछन् । आपूर्ति गर्न नसकेको बताउँदै उनले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाए । -रासस