काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा अवधिमा जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य बढेको छ ।
असोज महिनाको अन्तिमसम्ममा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ०.६८ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिमा कम्पनीहरूले ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूले प्रथम बीमा शुल्क बापत सात अर्ब ५३ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकममा वैदेशिक रोजगार बीमाको रकम जोडिएको छैन । त्यस्तै, नविकरणीय बीमा बापत कम्पनीहरूले ३२ अर्ब २९ करोड रुपैयाँ संकलन गरेका छन् ।
चाडपर्वका कारण पहिलो त्रैमासमा व्यवसाय वृद्धि नभएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले बताए । ‘चाडपर्वमा धेरै विदा हुन्छ । धेरै मानिसहरू महिनाको अन्तिममा पोलिसी लिन्छन् । पर्वको कारण महिनाको अन्तिममा धेरै विदा भएको छ । त्यसैले पनि व्यापार खुम्चिएको हो,’ उनले भने । प्राधिकरणले पोलिसी काट्ने मिति तोकिदिए पछि पनि व्यापार प्रभावित भएको उनले बताए ।
तर, प्राधिकरणले भने विश्व आर्थिक मन्दीको प्रभाव नेपालको जीवन बीमा कम्पनीमा पनि परेको बताएको छ । मानिसहरूको क्रय शक्तिमा नै हस आएको छ । जसको प्रभाव बीमा व्यापारमा परेको हो ।
गत आवको तुलनामा चालु आवको रिलायबल लाइफ इन्स्योरेन्सको व्यवसाय सबैभन्दा धेरैले वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमास अवधिमा एक अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिमा कम्पनीले एक अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थियो ।
व्यवसाय धेरै वृद्धि गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रोमा परेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमास अवधिमा चार अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १६.९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले चार अर्ब १९ करोड रुपैयाँ संकलन गरेको थियो ।
त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सले भने १६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमास अवधिमा एक अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा भने एक अर्ब ५० करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।
तर, समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सानिमा लाइफ इन्स्योरेन्सको व्यवसाय भने ऋणात्मक छ । कम्पनीहरूको व्यवसाय क्रमशः ६६ र १.५ प्रतिशतले घटेको छ ।
लघु बीमा कम्पनीले भने चालु आवको पहिलो तीन महिनाको अवधिमा २२ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गार्डियन माइक्रो लाइफले ८ करोड ७१ लाख, क्रेष्ट माईक्रो लाइफले सात करोड ९७ लाख र लिबर्टी माइक्रो लाइफले पाँच करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
जीवन बीमा कम्पनीहरूले सावधिक जीवन बीमा बापत १५ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेका छन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा बापत नौ अर्ब १९ करोड रुपैयाँ, रूपान्तरित सावधिक जीवन बीमा बापत पाँच अर्ब ४३ करोड रुपैयाँ संकलन गरेका छन् ।
त्यस्तै, कम्पनीहरूले बालबच्चा सम्बन्धित सावधिक जीवन बीमा बापत ६ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत ७१ करोड ७८ लाख, आजीवन जीवन बीमा बापत एक अर्ब ११ करोड, एकल बीमा बापत एक अर्ब ३२ करोड र म्यादी जीवन बीमा बापत कम्पनीहरूले ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।