शीर्षकहरू

तिहारको अवसरमा १९ करोड ६७ लाखको सुन-चाँदीका सिक्का बेच्यो राष्ट्र बैंकले

तिहारको अवसरमा १९ करोड ६७ लाखको सुन-चाँदीका सिक्का बेच्यो राष्ट्र बैंकले

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा १९ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको सुन-चाँदीका सिक्का विक्री गरेको छ । बैंकले १६ करोड १६ लाख रुपैयाँको सुनका असर्फी र तीन करोड ५१ लाख रुपैयाँको चाँदीका सिक्का विक्री गरेको हो । 

केन्द्रीय बैंकले तिहारका लागि गत आइतबार देखि बुधबार (आज) सम्म चाँदीका सिक्का विक्री खुल्ला गरेको थियो । मंगलबार धनतेरसका दिनमा सुनको असर्फीको विक्री खुल्ला गरेको थियो । 

आइतबार देखि बुधबार चार दिनमा १६ हजार ७४० वटा चाँदीका सिक्का विक्री गरेको थियो । ११ असोज विक्री खुल्ला भएको पहिलो दिन एक हजार ३६२ वटा चाँदीका सिक्का विक्री गरेको बैंकको टक्सार महाशाखाले जनाएको छ । बैंकले सो दिन ३८ लाख ११ हजार ५०० रुपैयाँ चाँदी विक्री गरेको थियो ।

सोमबार ८३ लाख ३७ हजार रुपैयाँ बराबरको दुई हजार ९५१ वटा चाँदी सिक्का विक्री गरेको थियो । मंगलबार दुई करोड २९ लाख रुपैयाँ बराबरको ८ हजार ५१६ वटा चाँदी सिक्का विक्री भएको थियो भने बुधबार (आज) एक करोड ८ लाख रुपैयाँ बराबरको तीन हजार ९११ वटा चाँदी सिक्का विक्री भएको थियो । 

चार दिनमा बैंकले लक्ष्मी मेडालियन ३ हजार ९५६ वटा विक्री गरेको छ । गणेश मेडालियन दुई हजार ६६८ वटा विक्री गरेको छ । गजलक्ष्मी २ हजार ५१९, गाईमेडालियन २५ ग्रामको २ हजार ८६, गाईमेडालियन १० ग्रामको एक जहार ६०० विक्री भएको थियो । 

धनतेरसका दिन १८ करोड ४९ लाखको सुन चाँदीका असर्फी विक्री

नेपाल राष्ट्र बैंकले धनतेरसका दिन (हिजो) १८ करोड ४९ लाख रुपैयाँ बराबरको सुन-चाँदीका असर्फी विक्री गरेको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख सम्झना ढकाल अनुसार सून चादीका ४ हजार ५२० वटा असर्फी विक्री भएका छन् । 

जसमध्ये १६ करोड १६ लाख रुपैयाँ बराबरको ४ हजार ३८५ रुपैयाँ बराबरको सुनका असर्फी विक्री भएको थियो । 
ढकालका अनुसार सो दिन मात्रै सुन-चाँदीका गरी लक्ष्मी मेडालियन ३ हजार ३०० वटा असर्फी विक्री भएको छ । गणेश मेडालियन २ हजार ६०० वटा विक्री भएको छ । गजलक्ष्मी २ हजार ९००, गाईमेडालियन २५ ग्रामको २ हजार ३००, गाईमेडालियन १० ग्रामको २ हजार ५०० वटा असर्फी विक्री भएको छ । 

बैंकले सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले विक्री गरेको थियो । बैंकले पहिला आउनेलाई पहिलो प्राथमिकता दिएको थियो । 

चाँदीका सिक्का प्रति व्यक्ति बढीमा पाँच थानसम्म विक्री गरेको थियो । गाई अंकित २५ ग्राम, गाईं अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम विक्री गरेको थियो । 

नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा धनतेरसका दिन पारी (मंगलबार) सुन र चाँदीका असर्फी विक्री खुल्ला गरेको थियो । हिन्दु धर्ममा धनतेरसको दिनलाई शुभ मानिन्छ । यस दिन सुन र चाँदी खरिद गरेमा धनधान्य हुने मान्यता रहँदै आएको छ । राष्ट्र बैंकले प्रत्येक वर्षको तिहारको अवसरमा सुन र चाँदीका सिक्का विक्री गदै आएको छ ।