म्याग्दी । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो ।
शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गर्नुभएकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहेकी उनको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो ।
“कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भनिन, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।”
भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्यजस्तै बनेको मखमली फूल म्याग्दीका ग्रामीण भेगहरूबाट लोप हुँदै गइरहेको छ । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रसिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दमा तिहारको बेला परदेशबाट दाजुभाइ घरमा नआउँदाका पीडा समेटिएको छ । अहिलेका दिदीबहिनीलाई मालाका लागि मखमली फूल नपाइँदा निराश बनाएको छ ।
दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । यही फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दछन् ।
केही वर्षअघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ । मखमली फूल पाइन छाडेपछि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई थुङ्गे र सयपत्री फूल तथा स्थानीय मौसमी फूलको माला लगाइदिन थालेका छन् ।
नेपालीहरूका लागि तिहारको महत्व र मौलिकतासँग जोडिएको मखमली फूल हराउँदै जानुमा तापक्रम वृद्धिका कारण माटोमा अम्लियपन बढ्नु र अनुकूलन हुनेगरी यसको संरक्षण नगरिनु रहेको जानकारहरू बताउँछन् । पछिल्ला तीन वर्षयता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको भन्दै यसको संरक्षणमा अभाव देखिएको बेनीको न्युरोडमा पूजा तथा शृङ्गार पसल सञ्चालक टीकाराम आचार्यले बताए ।
“संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ । मखमलीले नेपालीको सांस्कृतिक महत्व बोकेको छ । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । दाजुभाइलाई यही फूल झै कहिल्यै नओइलाउनु भन्ने कामनासहित माला लगाइदिने परम्परा छ”, आचार्यले भने । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी, गुर्दौली, लालुपातेलगायत फूल पनि देखिन छाडेका आचार्यले बताए ।
पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनका लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताइन । नझर्ने, नओइलाउने र वर्षौँसम्म रहिरहने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्ने उनले बताइन।