शीर्षकहरू

प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।  गौरवका आयोजनाका रुपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । 

कुल रु ३० करोड ८७ लाख ६२ हजार सात सय ८७ को लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए । 

अनक–माउन्टेन जेभी काठमाडौँले ठेक्का पाएको सो हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारीमा रहेको सचिव भट्टराईले बताए । किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या समाधान हुने विश्वासका साथ हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको सो कृषि हाटबजारको निर्माण कार्य गत २०७८ साल जेठ ९ गतेदेखि सुरु भएको थियो । 

निर्माण कम्पनीले यही २०८१ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि समय अपुग भएको भन्दै सात महिना थप गरी यही मङ्सिर ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । 

प्रदेश सरकारको ७०–३० को लगानी मोडलअनुसार हेटौँडा उपमहानगरपालिकाको सहकार्यममा दुई बिघा चार धुर क्षेत्रफल जग्गामा निर्माणाधीन सो कृषि हाटबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायतका सरंचना रहेको प्रदेश सरकारको कृषि विकास निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्लिसिनाले जानकारी दिए । 

अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको सो हाटबजारको थोक बजारमा ४० सटर र सिटेलस मार्केटमा २३  सटर रहेको जनाएको छ । एउटै भवनमा दुईवटासम्म लिफ्ट रहेको सो भवनको माथिल्लो तलामा पनि सटर छ ।