काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सी आर पाटिलबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आज भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका थिए । उर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिए ।
भेटमा भारतका जल शक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको मन्त्रीको भनाई उदृत गर्दै भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । भारतीय मन्त्रीसँगको भेटमा नेपालका उर्जामन्त्री खड्कासँगै नेपाली प्रतिनिधीमण्डल तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधीको सहभागीता रहेको थियो ।