काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सुपर मादी हाइड्रोपावर लिमिटेडले १६ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ५० दशमलव ८४ प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले १० करोड ६९ लाख रुपैयाभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेको छ । वित्तीय खर्च कम भएकाले यस वर्ष कम्पनीको खुद नाफा बढेको देखिन्छ । गत वर्ष ४३ करोड २७ लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ४२ करोड १५ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
वित्तीय खर्च भने गत वर्ष २३ करोड १३ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । जगेडा कोष रकम भने ३० करोड ५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ भने ११४ रुपैयाँ ३१ पैसा रहेको छ । यस कम्पनीले निर्माण गरेको सुपरमादी जलविद्युत योजनाबाट २०७९ साल चैत २७ गतेदेखि विद्युत विक्री आम्दानी गरिरहेको छ ।