काठमाडौं । अष्ट्रेलिया १६ वर्ष मुनिका व्यक्तिहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । प्रधानमन्त्री एन्थनी अल्बानीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
उनको यस प्रस्तावमा सबै राज्य र क्षेत्रीय नेताहरूले उमेर प्रतिबन्धको योजनामा हस्ताक्षर गरेका छन् । फेसबुक, टिकटक, एक्सलगायत कुनै पनि सामाजिक सञ्जालमा अपवाद पनि नरहनेगरी १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरिएको हो ।
यससम्बन्धी विधेयक आगामी नोभेम्बर १८ देखि सुरु हुने संसदमा प्रस्तुत गरिँदैछ । विधेयक पारित भएपछि यसलाई एक वर्षभित्र लागू गर्ने तयारी गरिएको छ । यस योजनाले सामाजिक मिडियामा उमेर प्रमाणित गर्न के कस्ता व्यक्तिगत जानकारी आवश्यक पर्ने हो भन्ने बारेमा भने हालसम्म कुनै जानकारी दिइएको छैन । उक्त कानून उल्लङ्घन गरेमा कस्ता दण्ड सजाय रहनेछन् भन्ने पनि अस्पष्ट छ । सरकारले कुन प्लेटफर्महरूलाई सामाजिक मिडिया अन्तर्गत राख्ने भन्नेबारे पनि ठोस सूची सार्वजनिक गरेको छैन।
अष्ट्रेलियाले ठूला प्रविधि कम्पनीहरूलाई सामाजिक सञ्जाल चलाउन चुनौती दिँदै आएको छ, जसको उदाहरण २०२१ मा मेटाको फेसबुक र अल्फाबेट इन्कको गूगललाई समाचार सामग्रीको लागि तिरेको रकमको विषयमा गरिएको दबाब हो । हालसालै, सरकारले एलन मस्कको एक्स कर्पसँग सिड्नीमा भएको आतंकवादी आक्रमणको भिडियो हटाउन नसक्ने विषयमा विवाद समेत गरेको थियो ।