शीर्षकहरू

फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा उपस्थित हुन्छु : मनाङे

फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा उपस्थित हुन्छु : मनाङे

काठमाडौं । गत कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।' 

मनाङेलाई २०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।  गत मंगलबार सर्वोच्चका न्यायाधीश डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त फैसलालाई सदर गरेपछि उनी सम्पर्कविहीन भएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, 'गुणस्तरहिन सञ्चार माध्ययमहरुबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु ।' आफूविरुद्ध यस विषयलाई विभिन्न सञ्चार माध्ययमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

आफ्नो तर्फबाट बहस गरिरहेका कानुन व्यवसायीमार्फत अदालतको फैसलाको नक्कल सार्न पठाए पनि अदालतले पूर्णपाठ आइनसकेको बताएकाले पूर्णपाठ प्राप्त भएपछि आफै अदालतमा उपस्थित हुने बताएका हुन् ।

मनाङेको समूहले २०६१ मा चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । उक्त मुद्दामा मनाङेविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा गएकोमा पुनरावेदन अदालत पाटनले २०६९ मा ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो ।

null