शीर्षकहरू

३०० प्रतिशतसम्म बढ्यो अन्तराष्ट्रिय हवाई भाडा, नेपाली श्रमिक दिल्ली हुँदै उड्न थाले

३०० प्रतिशतसम्म बढ्यो अन्तराष्ट्रिय हवाई भाडा, नेपाली श्रमिक दिल्ली हुँदै उड्न थाले
फाइल तस्वीर

काठमाडौँं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएपछि अन्तराष्ट्रिय हवाई भाडा ३०० प्रतिशतसम्म बढेको छ । रातिका सबै उडान रद्द भएपछि अन्तराष्ट्रिय उडान कटौती भएकाले हवाई शुल्क पनि वृद्धि भएको हो । 

त्रिभुवन विमानस्थल शुक्रबार (कार्तिक २३) देखि १० घण्टा बन्द हुँदैछ । विमानस्थल बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द हुनेछ । विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएका छन् । केही एयरलाइन्सका उडान तालिका सारिएको छ भने केही कटौती नै गर्नु परेको छ । 

उडान कटौती हुनु र हवाई टिकट माग बढ्नुले मूल्य वृद्धि भएको एयरलाइन्सहरूको दाबी छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु चार्डपर्वमा नेपाल आउँछन् । यो अवधिमा भने श्रमिकहरु फर्कने र नयाँ रोजगारीमा जानेहरुको संख्या पनि धेरै हुने समय हो  । माग उच्च हुने समयमा उडान कटौती हुँदा ट्राभल व्यवसायीले टिकटको मूल्य बढाएको वैदेशिक रोजगार व्यवसायीका संघ अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘व्यवसायीले टिकट ३०० प्रतिशतसम्म बढाएका छन् । माग र आपूर्ति मात्रै टिकट बढ्नुको कारण हैन । व्यवसायीले कार्टेलिङ्ग पनि गरेका छन्,’ उनले भने । ट्राभल व्यवसायीले टिकट होल्ड गरेर चर्को मूल्यमा विक्री गरेका छन् । जसको मारमा श्रमिकहरु परेका छन् । 

अहिले अन्तराष्ट्रिय उडानको मूल्य ३०० सय प्रतिशत भन्दा बढीले बढेको एक ट्राभल व्यवसायीले बताए । आगामी नोभेम्बरसम्म काठमाडौँदेखि कुनै पनि अन्तराष्ट्रिय उडानको टिकट नै उपलब्ध नभएको उनले बताए । ‘अन्तराष्ट्रिय उडानको लागि यो पिकआवर हो । सरकारले बिना योजना यही अवधिमा विमानस्थल बन्द गर्दा श्रमिकहरु समस्यामा परेका छन्,’ उनले भने  । 

३०० प्रतिशतसम्मले बढ्यो हवाई शुल्क
काठमाडौँमा विमानस्थलबाट दिल्ली, दुबई, दोहा, मलेसिया, कुवेत, सिंगापुर लगायतका मुलुकमा सिधा उडान छ । विमानस्थल बन्द हुँदा यी उडानहरुको मूल्य वृद्धि भएको छ । 

एक ट्राभल व्यवसायीका अनुसार काठमाडौँँदेखि दिल्लीको एकतर्फी उडानको मूल्य ४० हजार रुपैयाँसम्म पुगेको उनले बताए । यसअघि भने १० हजार रुपैयाँसम्म विक्री हुँदै आएको थियो । त्यस्तै, कतारको एक तर्फी हवाई भाडा नै एक लाख रुपैयाँ पुगेको छ । उनका अनुसार यसअघि कतारको दुईतर्फको हवाई टिकटको शुल्क ५० हजार रुपैयाँ थियो ।  

दुबईको एक तर्फ ८५ हजार रुपैयाँ पुगेको छ । यसअघि दुई तर्फी उडानको ५५ हजार रुपैयाँ थियो । मलेसियाको एकतर्फी ८० हजार रुपैयाँ पुगेको छ । यसअघि एक तर्फीको टिकट ४८ हजार रुपैयाँ थियो । कुवेतको एकतर्फी शुल्क नै ७० हजार रुपैयाँ पुगेको छ । यस अघि भने ३५ हजार रुपैयाँ थियो । 

व्यवसायीका अनुसार नोभेम्बर २० सम्मका लागि कुनै पनि एयरलाइन्समा सिट छैन । त्यसैले जरुरी भएका नेपाली श्रमिकहरु भारतको दिल्ली हुँदै उड्न थालेको उनले बताए । ‘टिकट नै नपाएपछि  नेपाली श्रमिक बसबाट दिल्ली जाने र दिल्लीबाट विदेश जान थालेका छन्,’ उनले भने । 

वैदशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका नेपाली श्रमिकले दिल्लीस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन लेटर लिएपछि दिल्लीको एयरपोर्ट हुँदै अन्यत्र जान सक्नेछन् । अहिले एनओसी अनलाइनबाट नै लिन सकिने व्यवस्था छ । 

३० प्रतिशत उडान कटौती 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार तीन नेपाली कम्पनीसहित ३० वटा हवाई कम्पनीले काठमाडौँबाट अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । काठमाडौँं विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् । विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएका छन् ।   

रातिको समयमा करिब ११ वटा एयरलाइन्सका १४ वटा उडान तालिका थिए । राति भएका उडानहरु कतिपय कटौती भएका छन् भने केहीको उडान तालिका सारिएको छ । कतार एयरवेजको काठमाडौँँदेखि दोहाको राति २.१५ को उडान थियो । थाई एयरवेजको बैंकको लागि राति १२.२५ को उडान थियो । मलेसियन एयरलाइन्सको क्वाललम्पुरको लागि राति ११.१५ को उडान तालिका थियो । 

त्यस्तै, जजिरा एयरलाइन्सको काठमाडौँ कुवेत राति २ बजेको उडान थियो । फ्लाई दुबइको काठमाडौँदेखि दोहाका लागि राति १ बजे र २.४५ को उडान तालिका थियो । एयर अरेबियाको काठमाडौँंदेखि शारजहाका लागि राति २.३० र २ बजेको उडान थियो । सिंगापुर एयरलाइन्सको काठमाडौँदेखि  सिंगापुरको लागि राति ११.१० बजेको उडान थियो ।

क्याथे प्यासिफिकको काठमाडौँंदेखि हङकङगका लागि राति ११.१५ को उडान थियो  । नेपाल एयरलाइन्सको काठमाडौँंदेखि दोहा राति ९.३० बजेको उडान तालिका थियो  । त्यस्तै, चाइना साउर्थनको  काठमाडौँं देखि गोन्जाओको राति १२.५ बजेको उडान भर्दै आएको थियो भने एयर एण्डियानको राति ९ बजेको उडान  गर्दै आएको थियो । 

सिंगापुर एयरलाइन्सको तालिका ९.१० बजे सारिएको छ । क्याथे प्यासिफिकको भने ९ बजे राति सारिएको छ । त्यस्तै, नेपाल एयरलाइन्सको ९.३० मा उडान तालिका सारिएको छ । विमानस्थल बन्द हुँदा कतार एयरवेजको ५ वटा उडानबाट घटेर ३ वटा उडानमा सीमित भएको छ । थाइ एयरवेजको दुई वटाबाट घटेर एउटा मात्रै सीमित भएको छ । मलेसियन एयरलाइन्स, चाइना साउर्थन र जजिरा एयरलाइन्सको पनि दुई वटाबाट घटाएर एउटा मात्रै उडान राखिएको छ  । 

फ्लाई दुबइ, एयर इण्डिया र एयर अरेबियाको एयरलाइन्सको उडान दुई वटामा सीमित भएको छ  । यो एयरलाइन्सले यसअघि तीन वटा उडान भर्दै आएको थियो । एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौँं विमानस्थलको स्तरोन्नतिको काम भै रहेको छ । अहिले हुन लागेको मर्मत पनि सोही परियोजनाको निरन्तरता हो । 

प्राधिकरणले कात्तिक २३ गते देखि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यसका लागि १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।

विमानस्थलको यसअघि पनि पटकपटक मर्मत हुँदै आएको छ । २०७७ सालमा धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजे देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ कोटेश्वर क्षेत्र रनवे जिरो–टु  विस्तार गरिएको थियो ।

त्यस्तै, २०७५ सालमा विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । त्यति बेला करिब चार महिना विमानस्थाल दैनिक १० घण्टा बन्द गरिएको थियो । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।