शीर्षकहरू

बाढीले परेको दाबीको बीमा कम्पनीले गरे ४ प्रतिशत भुक्तानी

बाढीले परेको दाबीको बीमा कम्पनीले गरे ४ प्रतिशत भुक्तानी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोले बीमा कम्पनीहरूमा परेको दाबीको ४ प्रतिशत रकम भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूले कार्तिक २० गतेसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरूमा १० अर्ब ५३ करोड रुपैयाँ दाबी परेको छ । 

दाबी संख्याको आधारमा भने कम्पनीहरूले १८ प्रतिशत दाबीको भुक्तानी गरेका छन् । प्राधिकरणका अनुसार कम्पनीहरूले हालसम्म ६६७ वटा दाबीको भुक्तानी गरेका छन् । कम्पनीहरूमा तीन हजार ४६० वटा दाबी परेको थियो । 

बीमा कम्पनीहरूले सम्पति बीमामा परेको दाबी रकममध्ये ३८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीहरूमा सम्पति बीमामा सात अर्ब ९१ करोड रुपैयाँ दाबी परेको थियो । 

इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिममा परेको दाबीमध्ये एक करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यस्तो बीमामा कम्पनीहरूमा दुई अर्ब ६ करोड रुपैयाँ दाबी परेको थियो । 

मोटर बीमा (निजी) को दाबी रकममध्ये कम्पनीहरूले तीन करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बाढी पहिरोले मोटर बीमा (निजी) तर्फ ३३ अर्ब रुपैयाँ दाबी परेको थियो । 

मोटर बीमा (सार्वजनिक) तर्फ भने कम्पनीहरूले तीन अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेका छन् । बाढीले यस्तो बीमामा १६ अर्ब ८४ लाख रुपैयाँ दाबी परेको थियो । 

सामुन्द्रिक बीमामा एक करोड ५९ लाख रुपैयाँ दाबी परेकोमा कम्पनीहरूले सात लाख २१ हजार रुपैयाँ भुक्तानी गरेका छन् । पशुपन्छी बीमामा एक करोड २२ लाख दाबी परेकोमा कम्पनीहरूले १६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कृषि बालि बीमामा भने कम्पनीहरूले पाँच लाख रुपैयाँ भुक्तानी गरेका छन् । अन्य बीमा दाबीको कम्पनीहरूले दुई लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

बाढीले कोशी प्रदेशमा ४७ करोड ६० लाख रुपैयाँ बराबरको २३३ वटा दाबी परेको थियो । मधेश प्रदेशमा १७ करोड ६१ लाख रुपैयाँ बराबरको ९८ वटा दाबी परेको थियो ।

बागमती प्रदेशमा नौ अर्ब ७१ करोड रुपैयाँ बराबरको तीन हजार ५२ वटा दाबी परेको थियो । गण्डकी प्रदेशमा पाँच करोड ७२ लाख रुपैयाँ बराबरको २८ वटा दाबी परेको थियो । लुम्बिनी प्रदेशमा १० करोड ५१  लाख रुपैयाँ बराबरको ४४ वटा दाबी परेको थियो । कर्णाली प्रदेशमा चार लाख र सुदुरपश्चिममा दुई लाख नौ हजार रुपैयाँ बराबरको दाबी परेको थियो ।