काठमाडौं । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।