शीर्षकहरू

धार्मिक एवं प्रर्यटकीय क्षेत्र गंगा जमूना

धार्मिक एवं प्रर्यटकीय क्षेत्र गंगा जमूना

  • अमर अधिकारी

धादिङ्ग जिल्ला सदरमुकाम धादिङ्गबेशी देखि ११ कोश अर्थात झण्डै ५४ कि.मि.उत्तरी दुर्गम क्षेत्रमा अवस्थीत साविकको फूलखर्क, गुम्दी, रि, वसेरी र वुढाथुम गरी ५ वटा गा.वि.स.हरु मिलाएर वनाईएको गंगाजमूना गाउँपालिकाको क्षेत्रफल १४४.०९ वर्ग कि.मि. रहेको छ । वुढी गण्डकी र आखु नदीको संगममा रहेको यस पालिका विभिन्न दृष्टिकोणवाट महत्वपूर्ण मानिन्छ । गंगाजमूनाको वडा नं. ५ फूलखर्कमा रहेको गंगा–जमूना तीर्थस्थलले गंगाजमूना गाउँपालिकाको महत्वलाई अझै माथि उठाएको छ ।

पूर्व पश्चिम र दक्षिण पहाडि श्रृङखला विच भागमा समथर भु– भाग (सानो उपत्यका) तथा उत्तरमा ठाडो, अग्लो, फराकिलो चट्टानी पहरा, त्यही पहराको विचमा रहेको गंगा– जमूनालाई धार्मिक, ऐतिहासिक र मनोरम सुन्दरताका लागि महत्वपूर्ण मानिन्छ । करीव तीन हजार मिटर अग्लो पहरा दुई खोल्सामा विभाजित रहेको र तीनीहरुलाई गंगा र जमूनाले पुकारिन्छ ।

सो गंगा–जमूनावाट पानी झरनाको रुपमा तल खस्दाको दृश्यले जो कोही लाई पनि मन्त्रमुग्ध वनाउँछ, प्रफूल्ल वनाउँछ र सोही ठाउँमा घन्टौं वसेर आफ्ना सारा दुःख कष्ट विर्सेर त्यस दुश्यलाई टुलुटुलु हेरीरहुँ वनाउँदछ । पहराको एक चौथाईमा रहेको मन्दिरमा पुग्नलाई करिव दुई हजार सिँढीहरु चढ्नुपर्दछ । त्यसो त हाम्रा प्रमुख तीर्थस्थलहरु प्रायजशो उचो स्थान  मै रहेको पाइन्छ । गँगा जमूना मन्दिरमा दर्जनौं घण्टा, पहरामा प्वाल र मुर्तिको आकृति र छेउमा वार लगाएको छ । त्यही मन्दिरमा पूजाआजा गरिन्छ । तर त्यस क्षेत्रमा काटमार भने गरिदैंन ।

त्यस मन्दिरमा पूजा आजाकोे साथसाथै फूलका डोलीहरु चढाउने, वत्ती वाल्ने, परेवा उडाउने, घण्टाहरु चढाउने आदि गर्ने प्रचलन छ । मन्दिरको प्वालमा चढाएको दुःध करीब २ कि.मि. तल रहेको ढाडखर्क खोलामा निस्कने गर्छ भन्ने भनाई पनि पाइन्छ । यस मन्दिरको तल्लो भागमा अनौठा सुरुङ्ग र गुफाहरु रहेका छन् । मन्दिरवाट धेरै टाढा टाढाका रोमान्चक र मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।

प्राचिन कालमा मनु नाम गरेका एक ऋषिले सो स्थानमा तपस्या गरेका र शिवजी प्रशस्न झै त्यस स्थानमा प्रत्यक्ष प्रकट हुदाँ उहाँको जटावाट सो झरनाको उत्पत्ति भएको पण्डितजहरुको भनाई पाइन्छ । हिमालय पुराणमा गंगा जमूनालाई विश्वधाराको नामले पुकारेको सो झरनाको पानी मनुखोला हुदै भारतको गंगा नदिमा मिसिन पुगेको स्व. पण्डित वाचन शिरोमणी नारायण पोखरेलको भनाई रहेको थियो । यसले गर्दा गंगा जमूना ठूलो तिर्थस्थल भएको र यसको ऐतिहासिक महत्व रहेको पाइन्छ । यस गंगा जमुना तिर्थस्थलमा प्रत्येक संक्रान्ति, पूर्णिमा र एकादशीको दिन पुजा लाग्ने गर्दछ । यहाँ पुजारीको रुपमा कान चिरुवा जोगीहरु रहने गर्दछन् । 

हरेक वर्षको हरिवोधनी एकादशीको अघिल्लो तिथी दशमीमा सो ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । यस मेलामा धादिङ्गका अधिकाँश वासिन्दा मात्र नभएर गोर्खा, नुवाकोट, तनहँु, चितवन, काठमाडौ उपत्यकाका भक्तजनहरु समेतको ठुलो घुईचो लाग्ने गर्दछ । सो दिनमा  राता फूलका डोलीहरु वोक्नेहरु, ढयाङग्रेहरु, वाजा वजाउनेहरु, सोरठी नाच, वालान भजन लगायत ठूलो दलवल एका विहानै देखि मेला भर्न पुग्छन् । सो स्थानमा व्यापारीहरु ४–५ दिन अगावै टहराहरु निर्माण गरी आ–आफ्ना व्यापारमा तल्लीन हुन पुग्दछन् । सो दिनभर र रातभर मेला भर्न आएका भक्तजनहरुको भीडले सो स्थान भरिभराउ देखिन्छ । झिलिमिली वत्ती, विभिन्न वाजा र नाचहरुले त्यहाँको वातावरण मनमोहक वनाउने गर्दछ । यस वर्षको गंगाजमूना मेल यहि २०८१ साल कार्तिक २६ गते परेको र विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाउने तयारी भैरहेको वडा अध्यज्ञ श्री कुमार वहादुर अधिकारी वताउनु ।

गाउँपालिकाले केही वर्षदेखि मेलालाई व्यवस्थित वनाउन विभिन्न कार्यक्रमहरुको आयोजना गरी प्रतिष्ठीत व्यक्तिहरु, नेता त्था कलाकारहरुको जमघट गराउने गरेको छ । पालिकाकै पहलमा विभिन्न लोपहुदै गईरहेको संस्कृतिको जगेर्नामा टेवा पुराउने कार्य हुदै आएको छ भने मन्दीरलाई व्यवस्थित वनाउने र पूर्वाधार निर्माणका कार्यहरु धमाधम थपिदै गएका छन् । गंगाजमूनामा मोटरवाटोले छोएको हुदाँ आगमनमा सुगमता थपिएको र पहिलेको तुलनामा दर्शनार्थीहरुको संख्या वढेको स्थानीयवासीहरु वताउछन् । 

निक्कै अग्लो पहरावाट झरेको झरनामा नुहाई गँगा–जमुना माईको दर्शन गरेमा सारा पापहरु नाश भई मोक्ष हुने, मनका चाहनाहरु पुरा हुने धार्मिक विश्वास पाइन्छ । यस मन्दिरमा प्रत्येक वर्ष खडेरी परेको समयमा यस भेगका वासिन्दाहरु पानी माग्न जाने चलन पनि अद्यावधि छ । पानी माग्न गएको दिन ठूलो सानो पानी जहिले पनि पर्ने गरेको स्थानीय शिक्षक कमल ठाडेको भनाई छ । पहिले पहिले पानी माग्न जाँदा खाना पकाउने सवै भाडाकुडाहरु उपलब्ध हुने गर्दथ्यो केही पछि कसैले भाडा जुठो राखेकोले भाडा हराएको भन्ने किमदन्ती वुढापाकाहरुबाट सुन्न पाइन्छ ।

गंगा–जमूनाको पश्चिमपट्टि एक अर्काे झरना रहेको छ, जसलाई कुकूर धाराको नामले चिनिन्छ । सो झरनामा नुहाउँदा कुकुर लगायत हिँसक जनावरहरुले टोकेमा पनि विसेक हुन्छ भन्ने जनविश्वास पाइन्छ । अझै रोचक प्रसंग के छ भनी वैशाख जेष्ठ खासगरी सुख्खा महिनामा झरना सुकी पुरै पहरा सुख्खा रहने गर्दछ तर तलबाट मानिसको हुलले हर गंगे हरर पानी देउ भनी कुराउने र वाजा वजाउने गरेमा जोडका साथ माथीबाट तल पानी खस्ने गर्दछ । यस दृश्यलाई देख्दा जोकोही पनि अचम्म मान्दछन् । ईश्वरीय शक्तिको सानो झलक यस देश्यवाट महसुस गर्न सकिन्छ । ध्यान, तपस्या गर्नेहरुको लागि यो स्थान झन् महत्वपूर्ण हुन सक्छ ।

गंगा–जमूना भन्दा माथीको क्षेत्र धादिङ्गको फुलखर्क, रि, वसेरी, लापा तथा गोरखाको काशीगाउँ र केरौजा विचको भु–भाग झण्डै १ हजार वर्ग कि.मि. मा फैलिएको छ । यस क्षेत्रमा कोणधारी जँगल र लेकाली वनस्पतिहरु पाइन्छ । यस क्षेत्रमा कालो भालु, घोरल, थार, मृग, पान्डा, स्याल, जँगली कुकुर लगायत २५ थरीका स्तनधारी जनावरहरु, ८०० थरीका विरुवाहरु सयौं जातिका चराहरु पाइन्छ । विभिन्न खोलानालाहरु, झरना, गुफा, लालिगुराँशका प्रजातीहरु रहेको यस क्षेत्रमा सयौं जडिवुटीहरु भएको अनुमान गरिन्छ । तर यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा संबन्धित निकायहरुको ध्यान नपुग्दा विनाशको प्रकोप यस भेगले ब्यहोरिरहेको छ । दिनदिनै मासिदै गएको वनजंगल जोखिममा परेका वंगली जनावर, पंक्षीहरुको वासस्थान, सुक्दै गएको पानीको मुहान आदि दर्दनाक अवस्थाले यहाँको प्राकृतिक स्रोतहरुमा हस आएको छ । यही गतिमा विनास हुदै गए गँगाजमूना झरना पनि संंकटमा पर्ने देखिन्छ । पानीको मुहान सुक्ने तथा भूक्षयको प्रकोप यस भेगका वासिन्दाहरुले व्यहोर्न नपर्ला भन्न सकिन्न । 

गंगाजमूना तथा आसपासका गा.पा.हरुका धेरैजसो युवाहरु पर्यटक ब्यबसायमा संलग्न हुनु आफैमा एउटा रमाइलो पक्ष रहेको छ  । अर्को तर्फ आँखु खोला देखि गँगा जमूनाको माथिल्लो आधार शिविर सम्म पैदल मार्गको विस्तार गरी पर्यटकहरुलाई गणेश हिमालको दृश्यावलोकनको साथै त्यस क्षेत्रको वनस्पति, जनावर पंक्षी, झरना ताल आदिको अवलोकन गराउन सकिने संभावना प्रचुर मात्रमा रहेको छ । गणेश पर्वतको सेरोफेरोमा रहेको यस स्थान पर्यटकीय मार्गकोरुपमा पनि रहेको छ । 

त्यसो त गंगा जमूना तीर्थस्थल वागमती प्रदेशको सवैभन्दा अग्लो झरना मात्र नभएर नेपालको नै महत्वपूर्ण तिर्थस्थल, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको प्रतिक हो । यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा स्थापित गराउन सके यसको धार्मिक र प्राकृतिकको अलवा आर्थिक महत्व पनि रहन सक्ने थियो । (अधिकारी, गंगाजमूना–५, फूलखर्क, धादिङ्ग निवासी हुन)