शीर्षकहरू

बाढी पहिरोबाट परेको दाबी छिटो भुक्तानी गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

बाढी पहिरोबाट परेको दाबी छिटो भुक्तानी गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी पहिरोबाट बीमा कम्पनीहरूमा परेको दाबीको छिटो भुक्तानी गर्न निर्देशन दिएको छ । कम्पनीहरूले दाबीको भुक्तानी सुस्त गरेको भन्दै भुक्तानी प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएको हो । 

प्राधिकरणले यस अघि पनि दाबी भुक्तानीको लागि कार्यविधि नै बनाई भुक्तानी गर्न भनेको थियो । कम्पनीले पटक पटक निर्देशन दिँदा पनि कम्पनीहरूले भुक्तानीलाई तीव्र नपारेको भन्दै प्राधिकरणले यथाशिघ्र र प्रभावकारी पार्न प्राधिकरणले निर्देशन दिएको छ ।

कम्पनीहरूले अत्यन्त न्यून संख्या र रकम भुक्तानी भएकोमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ बताएको छ । ‘बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मूल्याङ्कन (सर्भे) गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशनुसार अनुरोध छ,’ प्राधिकरणले दिएको निर्देशनमा लेखिएको छ । 

गत असोजको दोस्रो साता आएको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसमध्ये बीमा कम्पनीहरूमा साढे १० अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो । 

भुक्तानी प्रक्रियालाई सहज बनाउन प्रत्येक साताको बुधबार दाबी र भुक्तानीको विवरण प्राधिकरणमा बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । 

बाढीले परेको दाबीको बीमा कम्पनीले गरे ४ प्रतिशत भुक्तानी 

बाढी पहिरोले बीमा कम्पनीहरूमा परेको दाबीको ४ प्रतिशत रकम भुक्तानी भएको छ । बाढी आएको डेढ महिनाको अवधिमा पनि कम्पनीहरूले थोरै मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूले कार्तिक २० गतेसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरूमा १० अर्ब ५३ करोड रुपैयाँ दाबी परेको छ । 

दाबी संख्याको आधारमा भने कम्पनीहरूले १८ प्रतिशत दाबीको भुक्तानी गरेका छन् । प्राधिकरणका अनुसार कम्पनीहरूले हालसम्म ६६७ वटा दाबीको भुक्तानी गरेका छन् । कम्पनीहरूमा तीन हजार ४६० वटा दाबी परेको थियो । 

बीमा कम्पनीहरूले सम्पति बीमामा परेको दाबी रकममध्ये ३८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीहरूमा सम्पति बीमामा सात अर्ब ९१ करोड रुपैयाँ दाबी परेको थियो । 

इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिममा परेको दाबीमध्ये एक करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यस्तो बीमामा कम्पनीहरूमा दुई अर्ब ६ करोड रुपैयाँ दाबी परेको थियो । 

मोटर बीमा (निजी) को दाबी रकममध्ये कम्पनीहरूले तीन करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बाढी पहिरोले मोटर बीमा (निजी) तर्फ ३३ अर्ब रुपैयाँ दाबी परेको थियो । 

मोटर बीमा (सार्वजनिक) तर्फ भने कम्पनीहरूले तीन अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेका छन् । बाढीले यस्तो बीमामा १६ अर्ब ८४ लाख रुपैयाँ दाबी परेको थियो । 

सामुन्द्रिक बीमामा एक करोड ५९ लाख रुपैयाँ दाबी परेकोमा कम्पनीहरूले सात लाख २१ हजार रुपैयाँ भुक्तानी गरेका छन् । पशुपन्छी बीमामा एक करोड २२ लाख दाबी परेकोमा कम्पनीहरूले १६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कृषि बालि बीमामा भने कम्पनीहरूले पाँच लाख रुपैयाँ भुक्तानी गरेका छन् । अन्य बीमा दाबीको कम्पनीहरूले दुई लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

बाढीले कोशी प्रदेशमा ४७ करोड ६० लाख रुपैयाँ बराबरको २३३ वटा दाबी परेको थियो । मधेश प्रदेशमा १७ करोड ६१ लाख रुपैयाँ बराबरको ९८ वटा दाबी परेको थियो ।

बागमतीमा प्रदेशमा नौ अर्ब ७१ करोड रुपैयाँ बराबरको तीन हजार ५२ वटा दाबी परेको थियो । गण्डकी प्रदेशमा पाँच करोड ७२ लाख रुपैयाँ बराबरको २८ वटा दाबी परेको थियो । लुम्बिनी प्रदेशमा १० करोड ५१  लाख रुपैयाँ बराबरको ४४ वटा दाबी परेको थियो । कर्णाली प्रदेशमा चार लाख र सुदुरपश्चिममा दुई लाख नौ हजार रुपैयाँ बराबरको दाबी परेको थियो । 

null