शीर्षकहरू

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन

सियोल  उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ। यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ। 

यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो। यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौँदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।

सियोल र सहयोगी संयुक्त राज्य अमेरिकाले आणविक शक्ति सम्पन्न उत्तर कोरियाले रुसमा हजारौं सैनिक पठाएको आरोप लगाउँदै आएका छन्। उत्तर कोरियाली सैनिकलाई रूसी पोशाकले सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन् । 

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उक्त सम्झौतालाई नेता किम जोङ उनको आदेशको रुपमा अनुमोदन गरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त सम्झौतालाई अनुमोदन गर्न गत साता रुसी सांसदहरूले सर्वसम्मतिले मतदान गरेपछि उत्तर कोरियाका तर्फबाट यो सूचना आएको हो । उत्तर कोरिया युक्रेनमा रूसको आक्रमणको सबैभन्दा मुखर र महत्वपूर्ण समर्थक बनेको छ।