शीर्षकहरू

विभिन्न स्थानबाट करिब ८९ किलो अवैध लागूऔषधसहित ८ जना पक्राउ

विभिन्न स्थानबाट करिब ८९ किलो अवैध लागूऔषधसहित ८ जना पक्राउ
फाइल तस्विर

पर्सा । नेपाल प्रहरीले विभिन्न स्थानबाट कबिरब ८९ केजी अवैध लागू औषधसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ । नेपाल प्रहरीले वीरगंज महानगरपालिका–१५ भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका(४ हरिहरपुर बस्ने २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्राम आदापुर बस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी  कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरेको हो ।  

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरी नगरपालिका–७ बस्ने ३३ वर्षीय शंकर स्याङ्तान र  ४० वर्षीय रामशरण प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडी भागमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी अटो चालक शंकर र अटोमा सवार रामशरणलाई पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने २२ वर्षीय रोशन दंगाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित इलाम फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुर बस्ने २७ वर्षीय बिशाल मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
  
सुनसरी, इटहरी उपमहानगरपालिका–५ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–५ बस्ने ३२ वर्षीय आशिष चौधरी र २७ वर्षीय विष्णु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
 
त्यस्तै, धनगढी उपमहानगरपालिका–५ लब्लि चोकबाट अवैध लागूऔषध चरेश करिब ३६ किलो ६ सय ६२ ग्राम बुधबार बेलुकी प्रहरीले बरामद गरेको छ । 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले हाल अल्फाबेट नखुलेको १०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले १ वटा बोरा फाली मोटरसाइकल सहित फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी बरामद गरेको हो ।