काठमाडौं । नेपाल बैंकले ८७ वर्ष पुरा गरेको छ। विस १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक हो । नेपाल बैंक शुरु हुँदा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो । १२ जना कर्मचारी थिए।
हाल बैंकको २२९ वटा शाखा कार्यालय छन् भने ५९ वटा एक्सटेनसन काउन्टर छन्। ३ हजार ६१० जना कर्मचारी छन्। हाल नेपाल बैंकमा २५ लाख ४१ हजार ३६७ जना निक्षेपकर्ता र १ लाख ४५ हजार ४०२ जना कर्जा ग्राहक छन्। ८ लाख रुपैयाँबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ। असोज मशान्तसम्ममा बैंकको जगेडा कोषमा २४ अर्ब २० करोड रुपैयाँ जम्मा भएको छ। जसअनुसार अहिले बैंकको कुल नेटवर्थ ३८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने ७६ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा छ। १७ लाख रुपैयाँबाट सुरु भएको बैंकको निक्षेप अहिले २ खर्ब माथि पुगेका छ। गत असोज मशान्तको तथ्याँक अनुसार बैंकको निक्षेप २ खर्ब ८६ अर्ब २५ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ। यसैगरी १९ लाख रुपैयाँबाट सुरु भएको कर्जा लगानी पनि अहिले २ खर्ब माथि नै पुगेको छ। असोजसम्ममा बैंकको कुल कर्जा लगानी २ खर्ब २ अर्ब ५४ करोड ४६ लाख ६१ हजार रुपैयाँ पुगेको छ।