शीर्षकहरू

दशकपछि प्रहसनमा महजोडी : यस्तो रह्यो पहिलो दिन

दशकपछि प्रहसनमा महजोडी : यस्तो रह्यो पहिलो दिन

काठमाडौं । नेपालको हास्य-व्यंग्य विधामा विशिष्ट स्थान बनाएको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य को दश वर्षपछि पुनः मञ्चमा फर्केको मह जात्रा प्रहसनको पहिलो दिन दर्शकहरूको भव्य उपस्थिति र उत्साहबीच सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिनमा दर्शकहरूको अत्यधिक भीड देख्न पाइयो, जसले यो जोडीप्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ ।

यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका वावजुद हास्य-व्यंग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ। हरिवंश आचार्यसँगको अटूट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ हास्य-व्यंग्यको अनौठो मिश्रणसहित प्रस्तुत गरिएको 'मह जात्रा' ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हँसाउने तरिकाबाट गम्भीर रूपमा सोच्न प्रेरित गर्यो। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भयो।

मह जोडीसँगै सहभागी कलाकारहरूले किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषा वस्नेत जस्ता चर्चित कलाकारहरूले पनि दमदार प्रस्तुति दिएका थिए ।

दर्शकहरूले यो प्रहसनलाई अत्यधिक सकारात्मक प्रतिक्रिया दिएका छन् हास्य र व्यंग्यको माध्यमबाट समाजका गहिरा विषयवस्तुहरूलाई उजागर गर्ने मह जोडीको शैली दर्शकहरूले निकै रुचाएका छन् ।

मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजित यो प्रहसनको बाँकी दिनहरूको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। कार्यक्रम कातिक ३० मंसिर १, ४, ५, ६, १२, १३, १७ र १८ गतेसम्म जारी रहनेछ।

मह संचार र सुश्री मिडिया प्रालिको सहकार्यमा प्रस्तुत यो कार्यक्रमले नेपाली हास्य-व्यंग्य क्षेत्रमा महत्त्वपूर्ण कोसेढुंगा राख्ने विश्वास गरिएको छ। 'मह जात्रा' ले दर्शकलाई हँसाउने मात्र होइन, समाजप्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्ने बताइएको छ ।