गण्डकी । निर्माण घोषणाको सात वर्ष बितिसक्दा पनि कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेको छैन । गत वर्ष सुरु गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अझै पूरा हुन नसकेको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको उद्योग–वाणिज्य महाशाखा प्रमुख महराज ढकालले जग्गा प्राप्तिसँगै ‘इआइए’को प्रक्रिया लम्बिएका कारण औद्योगिक क्षेत्र निमार्णमा ढिलाइ भइरहेको बताए । परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले गत वर्ष दुवै औद्योगिक क्षेत्रको ‘इआइए’ गर्ने जिम्मा लिएको थियो । एक महिनाभित्र क्षेत्र निर्धारण र कार्यसूची तय गर्ने, दुई महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन र पाँच महिनाभित्रमा अन्तिम अध्ययन प्रतिवेदन बुझाउने गरी सम्झौता भए पनि प्रतिवदेनले अझै पूर्णता पाएको छैन ।
पुँडीटार औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृतिको अन्तिम चरणमा रहेको महाशाखा प्रमुख ढकालले बताए । लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा गर्न थप समय लाग्ने देखिएको उनको भनाइ छ । ‘इआइए’ नगरेसम्म औद्योगिक क्षेत्रका लागि सङ्घ सरकारबाट जग्गा उपलब्ध नहुने भएपछि प्रदेश सरकारले सो काम अगाडि बढाएको थियो ।
जग्गा प्राप्तिका लागि प्रदेश सरकारले पठाएको प्रस्ताव सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको महाशाखाले जनाएको छ । ‘इआइए’को अध्ययन प्रतिवेदन आइसकेपछि जग्गा व्यवस्थापन र औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु हुने जनाइएको छ । सङ्घ सरकारले वन तथा वातावरण मन्त्रालयको सहमतिपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्नेछ । प्रदेश सरकारको उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट वन तथा वातावरण मन्त्रालयमा पुगिसकेको प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रदेश गौरवका आयोजनाका रूपमा घोषित औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएपछि जनस्तरमा पनि गुनासो बढेको छ । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहाखोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई चाहिने जग्गा नापजाँच तथा यकिन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पर्खाइमा प्रदेश सरकार छ । प्रदेश सरकारको मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरी जग्गा प्राप्तिको प्रस्ताव दुई वर्षअघि नै सङ्घमा पठाएको थियो ।
जग्गा प्राप्ति भएपछि पुँडीटारमा ४५ सय रोपनी र लोकाहाखोलामा एक सय ४१ बिघामा औद्यागिक क्षेत्र निर्माण हुने जनाइएको छ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो ।
पुँडीटारमा केही अव्यवस्थित बसोबास रहे पनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ । प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । जग्गाको नापजाँच र स्रेस्तासमेत कायम भइसकेको जनाइएको छ । पुँडीटारमा अव्यवस्थित बसोबासमा रहेका ५०/६० परिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले दुई औद्योगिक क्षेत्रसँगै २५ उद्योग ग्राम निर्माणको योजनालाई समेत अगाडि बढाएको जनाएको छ ।रासस