शीर्षकहरू

भारतको एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको ज्यान गयो

भारतको एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको ज्यान गयो

एजेन्सी । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भीषण आगलागी हुँदा १० बालबालिकाको ज्यान गएको छ भने कैयौं गम्भीर घाइते भएका छन् । जानकारी अनुसार मेडिकल कलेजको एसएनसीयू (शिशु वार्ड)मा राति करिब ८ः३० बजे यो घटना भएको हो । अक्सिजन कन्सेन्ट्रेटरमा सर्ट सर्किट भएर आगलागी आगलागी भएको हो । कोठामा अक्सिजनको मात्रा बढी भएकाले आगो तिब्र गतिमा फैलिएको थियो । 

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सचिन महोरका अनुसार एनआइसियु वार्डमा ५४ जना बालबालिका भर्ना थिए । जसमध्ये ४० जनालाई सकुशल बाहिर निकालिएको छ । तर, १० बालबालिकाको मृत्यु भएको छ भने अन्य धेरै बालबालिका गम्भीर घाइते भएका छन् । घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रणमा लिन मेडिकल टोली र छ दमकलको गाडी घटनास्थलमा पुगेको थियो । दमकलले निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै झाँसी जिल्लाका प्रशासनिक अधिकारीहरूले राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले मृतक बालबालिकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले जिल्ला प्रशासनलाई घाइतेको उपचारमा बेलैमा देखाउन निर्देशन दिँदै घटनाको गहिरो अनुसन्धान गर्न निर्देशन दिए ।

मुख्यमन्त्रीले झाँसीका आयुक्त र डीआईजीलाई घटनाको छानबिन गरी १२ घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । सर्ट सर्किटबाट आगलागी भएको अनुसन्धानबाट खुलेको छ । यता उपमुख्यमन्त्री ब्रजेश पाठक र स्वास्थ्य विभागका प्रमुख सचिव घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएर गएका छन् ।

आगलागीका कारण पूरै अस्पताल परिसरमा अस्तव्यस्त भएको थियो तर प्रशासन र अस्पताल प्रशासनको बेवास्ताले धेरै बालबालिकाको ज्यान जोगाउन सकिएको थियो । प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान भइरहेको छ ।