काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोर्ट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोर्ट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।
उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । “अब भने रोबोर्टले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ”, उनले भने, “सामान्य सोधपुछदेखि एनटीसी सेवाका छ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोर्टमार्फत सुन्न सक्नुहुन्छ ।”
रोबोर्टलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोर्टले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोर्टले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोर्टमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।