काठमाडौं । गम्भीर प्रकृतिका रोग लागेमा बिरामीहरुलाई सघन उपचार कक्ष (आईसीयू) तथा सीसीयूमा राखेर उपचार गरिन्छ । यस्ता बिरामीहरुलाई राखेर उपचार गरिने बेड देशभर साढे २० हजार रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार ७९७ आईसीयू बेड रहेका छन् । त्यस्तै, एक हजार ८ वटा भेन्टिलेटर, तीन हजार ८४६ एचडीयु बेड रहेका छन् ।
संक्रमक रोगका लागि छुटयाइएका (आइसोलेसन बेड) ८ हजार २ वटा रहेका छन् । यी बेडहरु मध्ये केहि जनरल बेडकारुपमा प्रयोग भइरहेका छन् । जसलाई आवश्यक पर्दा आइसोलेसन बेड बनाउनेगरि अहिले जनरल बेडकारुपमा अस्पतालहरुले प्रयोगमा ल्याएका छन् ।
तर, देशभर रहेका आईसीयू बेडहरु पूर्णरुपमा सञ्चालनमा नरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘आईसीयू बेडहरु जति छन् ती पूर्णरुपमा सञ्चालनमा छैनन । कतिपय बन्द छन् । बन्द रहेका धेरैजसो पालिकाहरुले राखेको आईसीयुका बेडहरु छन् । यी पनि धेरै त छैनन । करिब डेढ सयको हाराहारीमा छन् ।’
मुलुककै जेठो वीर अस्पतालमा ८२ वटा आईसीयू बेड रहेका छन् । यस अस्पतालमा रहेका आईसीयू बेड सधैजसो भरिएका हुन्छन् । तर, केहि बेडहरु भने यस सञ्चालन भएका छैनन । यसबारे प्रवक्ता बुढाथोकी भन्छन्, ‘केहि महिनाअघि सबै आईसीयू बेडहरु वीरमा सञ्चालन नभएको पक्कै हो । तर, अहिले सबै चलिरहेका छन् । त्यसबेला जनशक्ति अभावको समस्याका कारण सञ्चालन भएका थिएनन । अहिले फेरि करारमा जनशक्ती थपेपछि सबै बेडहरु चलाइएको छ ।’
कतिपय अस्पतालहरुमा रहेका आईसीयू बेडहरु सञ्चालन नभएको सर्वसाधणले गुनासो गर्दै आएका छन् । कोरोना महामारीको समयमा धेरैजसो पालिकाहरुमा आईसीयू बेडहरु पुर्याएको थियो । ती बेडहरु अहिले दक्ष जनशक्तिको अभावले सञ्चालनमा आएका छैनन ।
कोरोना महामारीको बेला स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले तस्न सय भनदा बढी जनशक्तिलाई तालिम दिएको थियो । आईसीयू लगायतका सेवामा काम गर्नका लागि क्रिटिकल केयरका लागि तालिम लिनेहरुमा मेडिकल अफिसर, स्टाफ नर्स, विशेषज्ञ चिकित्सक लगायत सहभागी थिए । ती जनशक्तिलाई आईसियु वेड भएको तर जनशक्ति अभाव रहेको अस्पतालमा खटाउन सकिएको छैन ।
कहि भएका आईसीयू बेडहरु जनशक्ती अभावले सञ्चालन हुन सकेका छैनन भने कहि खाली नभएका कारण तत्काल शल्यक्रिया गर्नु पर्ने बिरामीहरु फर्किनु पर्ने बाध्यता छ । ठूला सरकार अस्पतालमा आईसीयू बेड पर्याप्त नहुँदा त्यसको असर विपन्न वर्गमा पर्छ । बेड नपाएर फर्किएका कतिपय बिरामीहरु निजी अस्पताल जाने गर्छन् । तर, जो विपन्न छन् उनीहरु उपचारबाट बञ्चित हुनु पर्ने बाध्यता छ ।
अहिले भइरहेका आईसीयू बेडहरु पूर्ण क्षमता चलेपनि पनि त्यो पर्याप्त नभएको मन्त्रालयका प्रवक्ता बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘देशभरका सरकारी अस्पतालहरुमा आईसीयु बेडहरु पर्याप्त छैनन । पूर्वाधार र जनशक्ति त्यहि अनुसार नभएका कारण यस्तो समस्या आएको हो । भएका बेडहरु पूर्णरुपमा चले पनि त्यो पर्याप्त छैन ।’ देशभरका अस्पतालहरुमा भएका बेड क्षमता अनुसार सञ्चालनमा ल्याउने र आईसीयू बेड थप्ने मन्त्रालयको योजना रहेको उनले सुनाए ।
सबै अस्पतालहरुमा डिजिटल ड्यासबोर्ड राख्ने तयारी
केहि अस्पतालहरुले आईसीयू बेडहरु खाली भएर पनि खाली छैनन भन्ने गरेको गुनासो आउने गरेको छ । यस्तो गुनासो मन्त्रालय नै नपुगेको भने होइन । मन्त्रालयमै पनि अस्पतालहरुले बेड भएर पनि छैन भन्ने गुनासो पुगेकाले यसबारे अनुसन्धान गरिरहेको प्रवक्ता बुढाथोकी स्वीकार्छन् ।
अब अस्पतालहरुले आफ्नो अस्पतालको बेड संख्या, सञ्चालनको अवस्था, बेड खाली छ छैनन भन्ने लगायतका विवरण डिजिटल ड्यासबोर्ड मार्फत उपलब्ध गराउनु पर्ने भएको छ । सबै अस्पतालहरुमा डिजिटल ड्यासबोर्डको व्यवस्था गर्ने मन्त्रालयको तयारी रहेको छ ।
उनले भने, ‘हामीले अहिले सबै अस्पतालहरुलाई आफ्नो अस्पतालको सम्पूर्ण विवरणसहित ड्यासबोर्ड राख्न लगाउने तयारी गरिरहेका छौं । उक्त ड्यासबोर्डमा अस्पतालको क्षमता, बेड संख्या, कति बिरामी आए, कति गए लगायतका सम्पूर्ण विवरण उल्लेख हुन्छ ।’
उनका अनुसार सो ड्यासबोर्डका लागि मन्त्रालयले सफ्वेयर मार्फत काम गरिरहेको छ । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि डिजिटल ड्यासबोर्ड राखिने हुँदा त्यसमार्फत जुनसुकै ठाउँबाट अस्पतालबारे विभिन्न जानकारी लिन सकिने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
अहिले पनि कतिपय अस्पतालहरूले अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने गरेको समेत उनले जानकारी दिए । डिजिटल ड्यासबोर्ड राखिएपनि अस्पतालको सेवा थप चुस्त हुने मन्त्रालयको भनाई छ ।
उता, निजी अस्पतालहरुको तथ्यांक पनि व्यवस्थित रहेको छ्रैन । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले भने आप्ना मातहतका कलेज तथा अस्पतालहरुको तथ्यांक राख्ने तयारी गरेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका महासचिव भिमप्रसाद चन्दले जानकारी दिए ।
उनले भने, ‘धेरै क्षेत्रको तथ्यांक नभए जस्तै अस्पतालको पनि तथ्यांक छैन । अब भने एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले तथ्यांक राख्नलाई पदाधिकारीहरुसँग छलफल भइरहेको छ ।’