शीर्षकहरू

सौराहामा ठूलो लगानीका होटल खुल्ने क्रम बढ्यो

सौराहामा ठूलो लगानीका होटल खुल्ने क्रम बढ्यो

चितवन । सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् । यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि आज नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे । 

उनले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताए । होटलका अध्यक्ष डा तिलचन्द्र भट्टराईले तीन तले ४० कोठे नयाँ भवन बनेसँगै चारतारे सुविधा सम्पन्न होटल निर्माण गरिने जानकारी दिए । हाल उक्त होटलको ४३ कोठा सञ्चालनमा छन् । होटलमा बस्ने ग्राहकलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरी चार तारे स्तरमा स्तरवृद्धि गर्न लागिएको उनले बताए ।
 
दुई वर्षभित्र सम्पूर्ण निर्माण पूरा गरी नयाँ भवन सञ्चालनमा ल्याइने जनाइएको छ । दुई बिघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी रु एक अर्ब रहने अध्यक्ष भट्टराईले जानकारी दिए । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जीप सफारी गरेर चितवन निकुञ्जका जैविक विविधतासगैँ गैँडा, बाघलगायतका जङ्गली जनावर हेर्न मन पराउँछन् ।