शीर्षकहरू

१६ महिनादेखि निरन्तर घट्दैछ ब्याजदर

१६ महिनादेखि निरन्तर घट्दैछ ब्याजदर

काठमाडौैं । विगत १६ महिना देखि बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपको ब्याजदर घट्ने क्रममा छ । प्रति महिना घट्दै गएको ब्याजदरले मंसिर महिनामा पनि निरन्तरता पाएको छ । मंसिर महिनाको लागि बैक तथा वित्तीय संस्थाले बैंकको ब्याजदर औसत ५.९९ प्रतिशत तोकेका छन् । २०८० को भदौमा बैक तथा वित्तीय संस्थाले ब्याजदर औसत १०.३२ प्रतिशत तोकेका थिए । 

बैकिङग प्रणालीमा तरलता  थुप्रिदै गएपछि कर्जाको माग नभएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि घटाएका छन् । कर्जाको माग कम भएपनि निक्षेपलाई पनि निरुत्साहीत गर्न बैक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका हुन् । 

केन्द्रिय बैंकको तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ६६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । तर, कर्जा लगानी भने ५२ खर्ब ७८ अर्ब रुपैयाँ मात्रै छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात ७८.३२ प्रतिशत कायम छ । नेपाल राष्ट्र बैकले यस्तो अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, बैँक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा कम ब्याजदर तोक्न पाउने छैनन् । केन्द्रिय बैकले ब्याजदरको करिडोर तल्लो सीमा ३ प्रतिशत कायम गरेको छ । 

मंसिर महिनाका लागि ११ वटा वाणिज्य बैंकले निक्षेपमा ब्याजदर घटाएका छन् । माछापुच्छ्रे बैंकले कात्तिक महिनाको तुलनामा एक प्रतिशत विन्दुले घटाएर मंसिरका लागि व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । एनएमबि, नबिल, ग्लोबल, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सन्राइज, प्राइम, कृषि विकास, एनआइसी एसिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका छन् । 

नेपाल इनभेष्टमेन्ट मेगा बैंक, हिमालयन, सानिमा, प्रभु, एभरेष्ट, एसबिआई, नेपाल बैंक र सिद्धार्थ बैंकको ब्याजदर स्थिर छ । तर, राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशत विन्दु बढाएर मंसिरका लागि ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

null