काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्याङ्कमा आधारितदेशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार हाल वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।
आयात ४.२ प्रतिशतले घटेको र निर्यात ६.१ प्रतिशतले घटेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको छ । गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।
असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) रू चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।
शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ । नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु.२४८ अर्ब २६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको देखिन्छ ।
पूर्णपाठ