शीर्षकहरू

घटेन हवाई टिकटको मूल्य, ४० प्रतिशत नेपाली भारतीय विमानस्थलमार्फत् विदेशिए

घटेन हवाई टिकटको मूल्य, ४० प्रतिशत नेपाली भारतीय विमानस्थलमार्फत् विदेशिए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई टिकट शुल्क घटाउन दिएको निर्देशनलाई कम्पनीहरूले अटेर गरेका छन् । वायुसेवा कम्पनीहरूले अझै पनि ३०० प्रतिशतसम्म चर्को शुल्कमा हवाई टिकट बिक्री गर्दै आएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नतिको लागि दैनिक १० घण्टा बन्द हुन थालेको छ । यसै बहानामा वायुसेवा कम्पनीले हवाई टिकटको मूल्य ह्वातै बढाएका छन् । टिकट मूल्य बढेपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । श्रमिकहरू थप आर्थिक भारमा परेपछि वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा परराष्ट्र मन्त्री आरजु राणालाई समेत भेटेर ध्यानकर्षण गराएका थिए । 

व्यवसायीको गुनासोपछि पर्यटनमन्त्री पाण्डेले श्रममन्त्री भण्डारी र परराष्ट्र मन्त्री राणालाई बोलाएर छलफल समेत गरेका थिए । क्यानले हवाई सबै हवाई सेवा कम्पनीलाई बोलाएर छलफल गर्दै टिकट मूल्य नबढाउन निर्देशन पनि दिएको थियो । तर, हवाई सेवा कम्पनीले भने टिकटको मूल्य घटाएका छैनन् । 

कम्पनीहरूले ३०० प्रतिशतसम्म हवाई टिकटको मूल्य बढाएका छन् । काठमाडौँ विमानस्थलबाट नयाँदिल्ली, दुबई, दोहा, मलेसिया, कुवेत, सिंगापुर लगायतका मुलुकमा सिधा उडान छ । 

ट्राभल व्यवसायीका अनुसार काठमाडौँदेखि दिल्लीको एकतर्फी उडानको मूल्य ४० हजार रुपैयाँसम्म पुगेको छ । यसअघि भने १० हजार रुपैयाँसम्म बिक्री हुँदै आएको थियो । त्यस्तै, कतारको एकतर्फी हवाई भाडा नै एक लाख रुपैयाँ पुगेको छ । उनका अनुसार यसअघि कतारको दुईतर्फी हवाई टिकटको शुल्क ५० हजार रुपैयाँ थियो । 

दुबईको एक तर्फ ८५ हजार रुपैयाँ पुगेको छ । यसअघि दुईतर्फी उडानको ५५ हजार रुपैयाँ थियो । मलेसियाको एकतर्फी ८० हजार रुपैयाँ पुगेको छ । यसअघि एकतर्फीको टिकट ४८ हजार रुपैयाँ थियो । कुवेतको एकतर्फी शुल्क नै ७० हजार रुपैयाँ पुगेको छ । यसअघि भने ३५ हजार रुपैयाँ थियो । 

४० प्रतिशत नेपाली श्रमिक भारत हुँदै विदेशिए
नेपालमा अन्तर्राष्ट्रिय उडानको टिकट मूल्य चर्को भएपछि ४० प्रतिशत नेपाली श्रमिक भारतका विभिन्न विमानस्थल हुँदै विदेशिएका छन् । एक ट्राभल व्यवसायीका अनुसार नेपाली श्रमिकहरू पश्चिम बंगालको बागडोग्रा, दिल्ली र गोरखपुर हुँदै विदेशिएका छन् । 

काठमाडौँबाट भद्रपुर, सिलगुढी हुँदै पश्चिम बंगालको बागडोग्रा विमानस्थलबाट जाने गरेका छन्  । त्यस्तै, कतिपय श्रमिक भैरहवाबाट गोरखपुर पुगेर गोरखपुर विमानस्थलको प्रयोग गरी विदेशिएका छन् । कतिपय श्रमिक धनगढीबाट महेन्द्रनगर हुँदै र नेपालगञ्जबाट बुटवल हुँदै दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट विदेशिएका छन् । 

नेपालमा हवाई टिकटको मूल्य चर्किएपछि सरकारले भारतबाट विदेश जाने श्रमिकको लागि अनिवार्य गरिएको नो अब्जेक्सन लेटरको व्यवस्थालाई हटाई दिएको छ । एनओसीको व्यवस्था हटेपछि श्रमिकलाई भारत हुँदै विदेश जान सहज भएको एक व्यवसायीले बताए । 

तर, भारतबाट विदेश जानु उचित विकल्प नभएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘अहिले नेपालमा चर्को भयो भनेर भारतबाट जाने, भोलि भारतबाट जाने शुल्क पनि बढ्यो भने कस्तो विकल्प खोज्ने ?,’ उनले भने, 'त्यसैले वायुसेवा कम्पनी र ट्राभल व्यवसायीको कार्टेलिङगलाई सरकारले रोक्नु पर्छ । अन्यथा सबैभन्दा बढी श्रमिक नै आर्थिक भारमा पर्नेछन् ।'

कार्यान्वयन भएन टीबीए खारेजीको सम्झौता
वायुसेवा कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको टीबीए खारेजीको सम्झौता कार्यान्वयन गरेका छैनन् । 

आफूखुशी निर्धारण गरिएको हवाई भाडा नियन्त्रण गर्ने विषयमा प्राधिकरण र सरोकारवाला पक्षबीच गत साता पाँच बुँदे सहमति भएको थियो । सहमतिअनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिएको थियो । 

प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूका प्रतिनिधिको उपस्थितिमा यस्तो सम्झौता भएको थियो । हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्नेगरी हवाई भाडादर कायम गर्ने सहमति समेत भएको थियो । 

बैठकले हवाई टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने समेत निर्णय भएको छ । त्यस्तै हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय समेत भएको छ । तर, सम्झौता भने कार्यान्वयन नभएको एक व्यवसायीले बताए । अहिले पनि ट्राभल एजेन्सीहरूले वायुसेवा कम्पनीसँग एकमुष्ट टिकट लिएर आफूखुशी बिक्री गरी रहेका छन् । ‘ट्राभलहरूले हवाई कम्पनीसँग बेनामे धेरै टिकट एकैपटक लिन्छन् । पछि आफुखुशी मूल्यमा टिकट बिक्री गर्छन्,’ उनले भने । व्यवसायीको यो बदमासीमा प्राधिकरणले आँखा चिम्लेको उनले गुनासो गरे । प्राधिकरणले कडाइ गर्ने हो भने शुल्क घटाउनुको विकल्प छैन । 

भैरहवाबाट सातामा १७ वटा अन्तर्राष्ट्रिय उडान
भैरहवा गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्ससहित चार वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छन् । त्रिभुवन विमानस्थल आंशिक रुपमा बन्द हुने भएपछि भैरहवा अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवा विमानस्थलबाट उडान भर्न थालेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गत कार्तिक २७ गतेदेखि मंसिर ४ गतेसम्ममा १९ वटा एयरलाइन्सले दोहा, भैरहवा, काठमाडौँ दोहा उडान भरेका छन् । 

प्राधिकरणका अनुसार आइतबार फ्लाई दुबई  र नेपाल एयरलाइन्सको एक/एक वटा उडान हुनेछ । सोमबार थाई एयरको एउटा, फ्लाई दुबई र नेपाल एयरलाइन्सको एक/एक वटा उडान हुनेछ । 

मंगलबार नेपाल एयरलान्स, जजिरा र फलाई दुबईको एक/एक वटा उडान हुनेछ । बुधबार फलाई दुबई र नेपाल एयरलाइन्सले उडान भर्नेछन् । बिहीबार जजिरा, थाइ एयर र फ्लाई दुबईको उडान हुनेछ । शुक्रबार फलाई दुबई र नेपाल एयरलाइन्सको मात्रै उडान हुनेछ भने शनिबार जजिरा र फ्लाई दुबईको एक/एक उडान भर्नेछन् ।