काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलगत्तै भारत भ्रमण गर्ने बताएका छन् । आज धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञाशामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए । उनले भने, 'एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौँ ।'
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाढी जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे । उनले भने, 'प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ ।'
सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताए।