एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय कम्पनी अडानी समूहसँगको सबै प्रस्तावित सम्झौता रद्द गरेको घोषणा गरेका छन् । यी सम्झौताहरूमा विद्युत प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला परियोजनाहरू थिए। केन्या सरकारले अडानी समूहसँगको प्रस्तावित ७० करोड डलरको विद्युत प्रसारण सम्झौता रद्द गरेको छ । यो सम्झौता देशमा विद्युत प्रसारणको पूर्वाधार निर्माण गर्ने विषयमा थियो । यसबाहेक अदानी समूहको अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि आएको १.८ अर्ब डलरको प्रस्ताव पनि खारेज भएको छ ।
केन्याका राष्ट्रपति रुटोले आफ्नो सरकारले भारतीय कम्पनी अदानी समूहसँग दुईवटा प्रमुख प्रस्तावित सम्झौता रद्द गरेको बताएका छन् । अमेरिकामा अडानी समूहमाथि घुसखोरीको आरोप लागेपछि यो निर्णय गरिएको हो । राष्ट्रपति रुटोले केन्याको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको नियन्त्रण अदानी समूहलाई दिने प्रक्रिया रद्द गर्न निर्देशन दिएको बताए ।
यसबाहेक ऊर्जा मन्त्रालयले गत महिना अदानी समूहसँग गरेको ३० वर्षे सार्वजनिक–निजी साझेदारी सम्झौता पनि रद्द भएको छ । यो सम्झौता केन्यामा विद्युत प्रसारण लाइन निर्माण गर्ने थियो। अदानी समूहमाथि हालै अमेरिकामा गम्भीर घुसखोरीको आरोप लागेको छ । यी आरोपपछि केन्या सरकारले यो कदम चालेको हो । राष्ट्रपति रुटोले आफ्नो सरकारले पारदर्शिता र इमान्दारिताको सिद्धान्तमा काम गर्ने भएकाले देशको छवि र देशको हित विपरीत हुने सम्झौतालाई अनुमोदन नगर्ने बताए ।
अमेरिकी अधिकारीहरूका अनुसार गौतम अडानी र अन्य सात जनामाथि भारतीय सरकारी अधिकारीहरूलाई २६ करोड ५० लाख डलर घुस दिएको आरोप छ। तर, अडानी समूहले यी आरोपहरूलाई अस्वीकार गर्दै कानुनी विकल्पको सहारा लिने बताएको छ। यसअघि केन्याका ऊर्जामन्त्री ओपियो वान्डीले प्रसारण लाइन आयोजनामा कुनै घुसखोरी वा भ्रष्टाचार नभएको बताएका थिए । केन्याको यो कदम अदानी समूहका लागि ठूलो झट्का मानिएको छ ।