काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो चार महिनाको अवधिमा १३ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन नेपाल भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार कार्तिक महिनासम्ममा १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँ बराबरको ८ लाख २७ हजार ९ सय २५ वटा विभिन्न ब्रान्डका मोबाइल नेपाल आयात भएका छन् । जसमध्ये चीनबाट मात्रै ९ अर्ब १९ करोड ७१ लाख ९९ हजार रुपैयाँ बराबरको ६ लाख ११ हजार ९ सय ९७ वटा विभिन्न ब्रान्डका मोबाइल फोन भित्रिएका छन् । भारतबाट ४ अर्ब २ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको २ लाख १३ हजार ४९ वटा मोबाइल फोन नेपाल भित्रिएको छ ।
भियतनामबाट ९ लाख ६ हजार रुपैयाँ बराबरको १ हजार २४ थान, अमेरिकाबाट ४ करोड ९३ लाख ६७ हजार रुपैयाँ बराबरको ४ सय १६ थान, युएईबाट ३ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको २ सय ८५ थान, जापानबाट २ करोड ९४ लाख ९२ हजार रुपैयाँ बराबरको ३ सय ९२ थान, कोरियाबाट १ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको १ सय ५० थान, अष्ट्रेलियाबाट १ करोड ५१ लाख ८१ हजार रुपैयाँ बराबरको १ सय ३८ थान, कतारबाट १ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको १ सय १ थान र युकेबाट ६५ लाख ७७ हजार रुपैयाँ बराबरको ६१ थान मोबाइल नेपालमा भित्रिएको हो ।
मोबाइल फोन आयात बापत सरकारले २ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागको सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको कार्तिक महिनासम्ममा भारतसहित विभिन्न मुलुकबाट २७ करोड ३९ लाख २ हजार रुपैयाँ बराबरको १४ लाख २३ हजार ७१ थान विभिन्न ब्रान्ड मोबाइलको चार्जर पनि नेपालमा भित्रिएका छन् । चार्जर आयातबाट सरकारले ८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा भित्रिने मोबाइलमध्ये ८० प्रतिशत चीनबाट आउने गरेको छ । त्यस्तै, १५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने गरेको छ भने ५ प्रतिशत अमेरिका, युके, क्यानडा, जापान, कोरिया, अष्ट्रेलिया, कुवेत, कतार, साउदी अरब, युएई, भियतनाम लगायतका मुलकबाट भित्रने गरेको छ ।