काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ । गत साउन २४ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीलाई साढे ३ महिनामै मंसिर ७ गते आईपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो । कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको जानकारी बोर्डले गराएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा कम्पनीले ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले संस्थापकतर्फबाट चुक्ता गरेको पूँजी भने ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ ।