काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । खुमलटार, ललितपुरस्थित धितोपत्र बोर्डको कार्यालयमा बुधबार बिहान उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले आफ्नै कार्यकालमा बोर्डको नयाँ भवन निर्माण गरेर कार्यालय सारिने बताए । पहिलो प्राथमिकतामा बोर्डको भवन निर्माण रहेको उनको भनाइ थियो । यस्तै सरकारको निर्देशन र अध्ययन समितिको सुझावका आधारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका विषयमा अगाडि बढ्ने पनि जानकारी उनले दिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले आज पदभार ग्रहण गरेका हुन् ।
श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । उक्त संस्था तत्कालिन नेपाल एक्सप्रेस फाइनान्स कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएपछि १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ ।
श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा समेत तीन वर्ष सदस्य रहेर काम गरेका थिए ।