पोखरा । बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याङ्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका ५ स्थित पवैखोला र विरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुवै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन् ।
पुलको शिलान्यासपछि बोल्दै भौतिक मन्त्री केसीले वर्षोंदेखि नबनेको पुल प्रदेश सरकार आएकैले बनेकाले यो खुसीको विषय भएको बताए । धेरैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने गरेको तर जनताले प्रदेश सरकारको महत्व विस्तारै बुझ्न थालेको उनले जिकिर गरे । ‘धेरैले प्रदेश सरकार काम छैन भनेर सामाजिक सञ्जालतिर लेखेको देख्छु ।
तर, प्रदेश सरकार नभएको भए पुल बन्न कति समय लाग्थ्यो,’ पवैखोलाको पुल शिलान्यास गर्दै मन्त्री केसीले भने, ‘त्यसैले प्रदेश सरकार आवश्यक छ वा छैन भन्ने जनताले बुझ्नुभएको छ ।’
पुल निर्माण समयमै सक्न र गुणस्तरमा कुनै कमजोरी नगर्न मन्त्री केसीले निर्माण व्यवसायीलाई आग्रह गरे । संघमा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार जनताका आधारभूत आवश्यकता, पूर्वाधार निर्माणमा सक्रिय रहेको बताए ।
बाडखोला पवैगौंडे टक्सार दुलेगौंडा सडकखण्डमा पर्ने राक्सेघाट खोलामा चार करोड ९२ लाख ७१ हजार रुपैयाँ लागतमा मोटरेबल पुल बन्न लागेको हो । बेलधारी–मेथाभुरुङ–सुन्तलाबारी–त्रियासी सडकखण्डको पवैखोलामा बन्न लागेको पुलको लागत एक करोड ८६ लाख ९२ हजार रुपैयाँ रहेको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।
राक्सेघाट खोला पुलको निर्माण २०८२ साल फागुन १२ गतेसम्म सक्ने सम्झौता निर्माण कम्पनी हिमनिर्माण सेवा काठमाडौंले पूर्वाधार विकास कार्यालय स्याङ्जासँग सम्झौता गरेको छ । त्यस्तै पवैखोलाको पुल २०८२ साल साउन ६ गतेसम्म सक्ने सम्झौता छ । यो पुल निर्माणको ठेक्का राङखोला सिद्धबाबा निर्माण सेवाले पाएको प्रमुख अधिकारीले बताए ।